काठमाडौं – चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ आउन थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधनलाई रोकिएको छ।
बाढीका कारण सडक तथा नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने आकलन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुंगा र भीमढुंगा नाका हुँदै बाहिरिने सवारीसाधनलाई काठमाडौंमै होल्ड गरेको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार जोखिम कायम रहेकाले ती जिल्लातर्फ जाने सवारीसाधनलाई तत्काल यात्रा नगर्न आग्रह गरिएको छ।
उनले भने, ‘जोखिमका कारण त्यसतर्फ जान लागेका सवारीलाई नजान भनिएको छ।’
ट्राफिक प्रहरीले यातायात व्यवसायीलाई समेत धादिङ, रसुवा र चितवनतर्फ सार्वजनिक सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेको छ। सम्भावित बाढी र सडक अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै सावधानी अपनाइएको प्रहरीले जनाएको छ।
नागढुंगा र भीमढुंगा नाकाबाट ती जिल्लातर्फ जाने चारपाङ्ग्रे निजी सवारीसाधन तथा दुईपाङ्ग्रे सवारीसाधनलाई समेत प्रहरीले रोक लगाएको छ।
बाढीको बहाव र जोखिमको अवस्था हेरेर सवारी आवागमनबारे थप निर्णय गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।