काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्।
सभाको बुधवारको बैठकमा निर्मला पन्त प्रकरणका सम्बन्धमा सांसदले सोधेको प्रश्नको जवाफ ठाडो भाषामा भएको स्विकार्दै रोष्ट्रमबाटै माफी मागेका हुन्। उनको उक्त भाषाशैलीप्रति सांसदहरूले आपत्ति जनाएका थिए।
यसअघि बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो ? यो राज्य संयन्त्रको अक्षमता हो कि कारबाही गर्न नचाहेको हो ? सरकारले हाम्री चेली निर्मलालाई कहिलेसम्म न्याय दिलाउँछ ?’ भनी प्रश्न सोधेका थिए।
जवाफमा गृहमन्त्री गुरुङले तपाईंहरु सत्तामा हुँदा किन नगरेको भन्दै ठाडो प्रतिप्रश्न गरेका थिए। उनले आइन्दा यस्तो प्रश्न नगर्न समेत सांसदहरूलाई चेतावनी दिएका थिए।
गृहमन्त्री गुरुङले माफी माग्दै भने, ‘मेरा तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो। यसका लागि म क्षमाप्रार्थी छु। हजुरहरूसँग माफी पनि माग्न चाहन्छु।’
उनले सरकार विपद् व्यवस्थापनका सम्बन्धमा सरोकारवाला सबैसँग आवश्यक समन्वय र सहकार्यमा काम गरिरहेको बताए।