काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्दै सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधान तथा सामाजिक सद्भाव कायम राख्ने विषयमा परामर्श गर्नुभएको छ।
प्रधानमन्त्री शाहले पछिल्लो घटनाक्रमपछि मधेशमा शान्ति–सुव्यवस्था सुदृढ बनाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायबारे नेताहरूको धारणा तथा सुझाव माग्नुभएको थियो। छलफल सकारात्मक र रचनात्मक भएको सहभागी नेताहरूले बताएका छन्।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्रीले पहिलो पटक मधेश केन्द्रित राजनीतिक दलहरूसँग यस विषयमा औपचारिक छलफल गर्नु सकारात्मक कदम भएको बताउनुभयो। उहाँले तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि आफूहरूले विभिन्न सुझाव प्रस्तुत गरेको जानकारी दिनुभयो।
यस्तै, नेता राजेन्द्र महतोले विगतमा मधेशसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकारलाई सुझाव दिइएको बताउँदै मधेशमा देखिएको समस्या समाधानका लागि सरकारको सक्रियता अझ बढाउन प्रधानमन्त्रीसँग आग्रह गरिएको जानकारी दिनुभयो। उहाँले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी समयमै समाधान निकाल्न पनि जोड दिइएको बताउनुभयो।
सहभागी नेताहरूले प्रधानमन्त्री शाह मधेशको पछिल्लो अवस्थाप्रति संवेदनशील र समस्या समाधानका लागि प्रतिबद्ध रहेको अनुभूति भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले सरकार र राजनीतिक नेतृत्वबीच निरन्तर संवाद तथा समन्वयले सामाजिक सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
छलफलमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के. शर्मा, प्रभु शाह, अमरेश कुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायत मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरू सहभागी हुनुहुन्थ्यो।