काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षाकर्मीको दुःखद निधन तथा त्यसपछिका घटनाक्रमप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई संयमित हुन अपिल गर्नुभएको छ।
राष्ट्रपतिले जारी गर्नुभएको अपिलमा मृतक सुरक्षाकर्मीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ। साथै घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारलाई आग्रह गरिएको छ।
अपिलमा पछिल्ला घटनाक्रमलाई लिएर समाजमा उत्पन्न तनावप्रति चिन्ता व्यक्त गर्दै सबै नागरिकलाई अफवाह र उत्तेजनाबाट टाढा रहन तथा आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम राख्न आह्वान गरिएको छ।
राष्ट्रपति पौडेलले लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन र संविधानको मर्मअनुसार सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै शान्तिपूर्ण वातावरण कायम राख्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
उहाँले नेपालमा सामाजिक, आर्थिक, जातीय, धार्मिक, लैङ्गिक, क्षेत्रीय तथा सांस्कृतिक विविधताबीचको एकतालाई थप मजबुत बनाउन सबैलाई आग्रह गर्नुभएको छ।