काठमाडौं - सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनाको छानबिनका लागि गठन गरिएको समितिमा दुई सदस्य थप गर्दै अनुसन्धानलाई थप प्रभावकारी बनाएको छ।
गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै ब्यालिस्टिक तथा फरेन्सिक परीक्षणको जिम्मेवारीसहित प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह धामीलाई समितिको सदस्यमा नियुक्त गरेको हो। मन्त्रालयले समितिलाई घटनासम्बन्धी प्रतिवेदन यथाशीघ्र पेश गर्न पनि निर्देशन दिएको छ।
गत आइतबार राति सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडपको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा सोमबार पाँच सदस्यीय समिति गठन गरिएको थियो।
यसैबीच, सुनसरीजस्तै प्रकृतिका घटना अन्य जिल्लामा दोहोरिन नदिन गृह मन्त्रालयले पूर्वतयारीका काम पनि तीव्र बनाएको जनाएको छ। मन्त्रालयले बाँके, कपिलवस्तु, धनुषा, सिरहा र सप्तरीलगायत संवेदनशील जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत शान्ति, सुरक्षा र आपसी सद्भाव कायम राख्न आवश्यक समन्वय गरिरहेको छ।
मन्त्रालयले ती जिल्लामा सुरक्षा अनुगमन र समन्वयलाई थप सुदृढ बनाएको छ। बुधबार गृहमन्त्री, गृहसचिव तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा मन्त्रालयमा जिल्लागत शान्ति–सुरक्षाको अवस्थाबारे विस्तृत समीक्षा समेत गरिएको थियो।
गृह मन्त्रालयले वार्ता र संवादमार्फत सुनसरीको समस्या समाधान गर्ने प्रयास जारी रहेको उल्लेख गर्दै हाल देवानगञ्जसहित अन्य संवेदनशील क्षेत्रमा अवस्था क्रमशः सामान्य बन्दै गएको जनाएको छ।