काठमाडौं – राष्ट्रिय खिर दिवस (साउन १५) का अवसरमा यस वर्ष देशभर करिब १ अर्ब रुपैयाँभन्दा बढीको दूध तथा दुग्धजन्य पदार्थको कारोबार हुने अनुमान गरिएको छ। नेपाल डेरी एसोसिएसनले बुधबार काठमाडौंमा आयोजना गरेको खिर प्रवर्द्धन कार्यक्रममार्फत यस्तो जानकारी दिएको हो।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालको अध्यक्षतामा तथा दुग्ध किसान रामप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कृषि, उद्योग, डेरी तथा दुग्ध क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
एसोसिएसनका अनुसार साउन १५ मा देशभर करिब १ करोड लिटर दूध खपत हुने अनुमान गरिएको छ। उक्त परिमाणको दूध तथा दुग्धजन्य पदार्थको प्रयोगबाट १ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने विश्वास गरिएको छ। यसबाट दूध उत्पादक किसान, डेरी उद्योग, स्थानीय उत्पादन तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव जगन्नाथ तिवारीले डेरी क्षेत्रको प्रवर्द्धनका लागि मन्त्रालय आवश्यक सहकार्य गर्न तयार रहेको बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले डेरी एसोसिएसनका गतिविधिमा महासंघको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै, साना तथा घरेलु उद्योग महासंघकी अध्यक्ष शोभा गुरुङले स्वदेशी डेरी उत्पादनको गुणस्तरमा थप ध्यान दिन आग्रह गर्नुभयो। निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द घिमिरेले छुर्पी, घिउलगायत नेपाली दुग्धजन्य उत्पादनको निर्यात विस्तारमा महासंघले सहयोग गर्ने बताउनुभयो।
प्रमुख अतिथि तथा दुग्ध किसान रामप्रसाद घिमिरेले किसानलाई सम्मान गर्दै कार्यक्रम आयोजना गरिएकोमा खुसी व्यक्त गर्दै यसलाई सम्पूर्ण किसान समुदायप्रतिको सम्मानको रूपमा लिनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमको उद्घाटन काठमाडौं इङ्लिस स्कुलका विद्यार्थीलाई खिर खुवाएर गरिएको थियो। साथै साना तथा घरेलु उद्योग महासंघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो। कार्यक्रममा मौलिक भान्छाघरको सहकार्यमा नौ प्रकारका खिरको स्वाद चखाउने व्यवस्था गरिएको थियो। मौलिक भान्छाघरका प्रबन्ध निर्देशक सुमन दाहालका अनुसार साउन १५ का दिन पनि नौ प्रकारका खिर उपलब्ध गराइने तथा आवश्यकताअनुसार होम डेलिभरी सेवा समेत सञ्चालन गरिनेछ।
राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ साल फागुन १५ गतेको निर्णयअनुसार हरेक वर्ष साउन १५ लाई राष्ट्रिय खिर दिवसका रूपमा मनाइँदै आएको छ। यस वर्ष नेपाल डेरी एसोसिएसनले "खिरको परिकार, किसानको सम्मान, डेरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान" भन्ने नारासहित देशभर विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
एसोसिएसनका अनुसार खिर दिवसले नेपाली मौलिक खानाको संरक्षण, स्वदेशी दुग्धजन्य पदार्थको उपभोग वृद्धि, किसानको सम्मान, डेरी उद्योगको सुदृढीकरण तथा स्थानीय कृषि उत्पादनको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउनेछ। पछिल्ला वर्षहरूमा दूध उत्पादन बढे पनि बजार विस्तार चुनौतीपूर्ण रहेकाले यस्ता अभियानले स्वदेशी दूधको खपत बढाउन र ग्रामीण अर्थतन्त्रलाई थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।