उर्जामन्त्री श्रेष्ठ फिल्डमा उत्रेपछि एकदिनमै हट्यो थापाथली क्षेत्रको अव्यवस्थित तार

उर्जामन्त्री श्रेष्ठ फिल्डमा उत्रेपछि एकदिनमै हट्यो थापाथली क्षेत्रको अव्यवस्थित तार

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको सक्रिय पहलपछि काठमाडौंको थापाथली क्षेत्रमा वर्षौंदेखि अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत्, इन्टरनेट, टेलिफोन तथा टेलिभिजनका तार एक दिनमै व्यवस्थापन गरिएको छ।

मंगलबार राति तारहरूको गुजुल्टोमा आगलागी भएपछि मन्त्री श्रेष्ठ बुधबार बिहानै घटनास्थल पुगेर स्थलगत निरीक्षण गर्नुका साथै सेवा पुनः सञ्चालन र तार व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गर्नुभएको थियो।

स्थलगत निरीक्षणकै क्रममा मन्त्री श्रेष्ठले सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक संस्था, काठमाडौं महानगरपालिका तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी थापाथली क्षेत्रका जोखिमपूर्ण तथा प्रयोगविहीन तार हटाउने काम सम्पन्न गराउनुभएको हो।

मन्त्री श्रेष्ठले सम्बन्धित सबै निकायको सहकार्यमा तार व्यवस्थापन सफलतापूर्वक सम्पन्न भएको बताउँदै राजधानीका अन्य क्षेत्रमा पनि यस्तै अभियान सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँले जोखिमपूर्ण अवस्थामा रहेका तार तत्काल व्यवस्थापन गरिने र दीर्घकालीन रूपमा व्यवस्थित तार व्यवस्थापनको योजना अघि बढाइने स्पष्ट पार्नुभयो।

राजधानीका विभिन्न स्थानमा वर्षौंदेखि अस्तव्यस्त रहेका तारलाई व्यवस्थित बनाउने अभियानलाई थप तीव्रता दिइने उल्लेख गर्दै मन्त्री श्रेष्ठले सञ्चार मन्त्रालय तथा सम्बन्धित निकायसँगको समन्वयलाई निरन्तरता दिइने बताउनुभयो। उहाँले सम्बन्धित निकायका पदाधिकारीलाई साथमा लिएर स्थलगत निरीक्षण गर्ने र फिल्डबाटै आवश्यक निर्णय तथा समन्वय गर्ने कार्यलाई पनि निरन्तर अघि बढाइरहनुभएको छ।

खबरपाटी
खबरपाटी