विश्वकप क्रिकेट लिग-२ : आज नेपालले नामिबियासँग खेल्दै

विश्वकप क्रिकेट लिग-२ : आज नेपालले नामिबियासँग खेल्दै

काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेदरल्याण्ड्समा जारी त्रिकोणात्मक शृङ्खलाको आफ्नो तेस्रो खेलमा आज नेपालले नामिबियासँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ।

नेदरल्याण्ड्स भ्रमणमा रहेको नेपाल जारी सिरिजका सुरुवाती दुवै खेलमा पराजित भइसकेको छ। पहिलो खेलमा नामिबियासँग ८ विकेट र दोस्रो खेलमा घरेलु टोलीसँग

६ विकेटले पराजित भएपछि नेपालमाथि भारी दबाब परेको छ। लिग-२ को तालिकामा निराशाजनक स्थितिबाट गुज्रिरहेको नेपाली टोलीलाई विश्वकपको 'ग्लोबल छनोट' मा सिधै पुग्न अबका खेलहरूमा ब्याटिङ पक्षमा व्यापक सुधार गर्दै जित निकाल्नुको विकल्प छैन।

लिग-२ मा सहभागी ८ टोलीमध्ये शीर्ष चारमा रहने टोलीहरू सिधै विश्वकपको ग्लोबल छनोटमा पुग्नेछन् भने पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपालले अब जारी सिरिजका दुई र ओमानमा हुने अन्तिम सिरिजका चार गरी कुल ६ खेल खेल्न बाँकी छ।

हाल ३० खेलबाट २४ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा रहेको नेपाललाई शीर्ष चारमा पर्न बाँकी ६ वटै खेलमा जित (शतप्रतिशत नतिजा) आवश्यक छ।

सबै ६ खेल जितेमा नेपालको ३६ अंक पुग्नेछ, जसले शीर्ष चारको सम्भावना बलियो बनाउँछ। तर, ५ खेल मात्र जितेको खण्डमा नेपाल ३४ अंकमै सीमित हुनेछ। यस्तो अवस्थामा ओमान, क्यानडा र नामिबियाजस्ता टोलीको नतिजा र नेट रनरेटमा निर्भर हुनुपर्नेछ। त्योभन्दा कम जितले भने शीर्ष चारको ढोका लगभग बन्द गर्नेछ।

विश्वकप छनोट मात्र नभई नेपाललाई आफ्नो एकदिवसीय (ODI) मान्यता जोगाउनसमेत हम्मे-हम्मे परेको छ। लिग-२ को शीर्ष ६ भित्र पर्न सके मात्र नेपालको ओडीआई मान्यता सुरक्षित रहनेछ।

यसका लागि नेपालले बाँकी ६ मध्ये कम्तीमा ४ खेल जित्नैपर्छ। चार खेल जितेमा नेपाल ३२ अंकमा पुग्नेछ, जसले ओडीआई मान्यता जोगाउन मद्दत पुर्‍याउनेछ। तर, ३ वा सोभन्दा कम खेल जितेमा नामिबिया, क्यानडा र यूएईसँगको प्रतिस्पर्धामा नेपाल पुछारतिर धकेलिने र ओडीआई मान्यता गुम्ने जोखिम उच्च रहनेछ।

खबरपाटी
खबरपाटी