प्रस्तुत कोईराला –
प्रधानमन्त्री वालेन्द्र शाहले निर्यात प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रका चुनौतीबारे छलफल गर्न आज प्रमुख निर्यातजन्य उद्योगसँग आबद्ध व्यवसायीहरूसँग संवाद गर्नुहुने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी हुने कार्यक्रम छ।
छलफलमा निर्यातजन्य उद्योगले भोगिरहेका समस्या, अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता, नीतिगत सुधारका आवश्यकता तथा निर्यात विस्तारका सम्भावित उपायबारे विस्तृत विचार–विमर्श हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
प्रधानमन्त्री शाहले पछिल्लो समय अर्थतन्त्रको पुनरुत्थान, उत्पादन वृद्धि, लगानी प्रवर्द्धन र निर्यात विस्तारलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रका उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायसँग निरन्तर संवाद गर्दै आउनुभएको छ।