विश्वकपयता २ लाख २३ हजारभन्दा बढी बेटिङ वेबसाइट र एप बन्द

विश्वकपयता २ लाख २३ हजारभन्दा बढी बेटिङ वेबसाइट र एप बन्द

काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप सुरु भएयता अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न २ लाख २३ हजार ५६८ वटा वेबसाइट र एप बन्द गरेको जनाएको छ।

सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको ४२औँ बुँदाअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्ता सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था लागू गरेको थियो। सोही निर्णयअनुसार नेपालमा सञ्चालन भइरहेका सबै बेटिङ वेबसाइट बन्द गरिए पनि नयाँ नाम र डोमेनमार्फत पुनः सञ्चालनमा आउने क्रम जारी रहेको प्राधिकरणले जनाएको छ।

फिफा विश्वकपका क्रममा बेटिङ एपको प्रयोग बढ्न सक्ने आकलन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत विशेष चासो देखाएपछि प्राधिकरणले निगरानी र कारबाहीलाई थप तीव्र बनाएको हो। यसका लागि प्राधिकरणले छुट्टै टास्क फोर्स गठन गरी इन्टरनेट सेवा प्रदायक (आईएसपी)सँग समन्वय गरेर काम गरिरहेको छ।

टास्क फोर्सका सदस्य तथा प्राधिकरणका सहायक निर्देशक एवं इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप सुरु भएदेखि आईएसपीका प्रतिनिधिलाई प्राधिकरणमै राखेर बेटिङ वेबसाइट सञ्चालन हुने यूआरएलहरू तत्काल ब्लक गर्ने व्यवस्था गरिएको छ।

उहाँका अनुसार यस्ता वेबसाइट ठूलो संख्यामा हुने भएकाले एक–एक गरी खोज्न सम्भव हुँदैन। त्यसैले अधिकारप्राप्त विभिन्न निकायबाट पहिचान भएका बेटिङ साइट तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न वेबसाइटहरूको सूचीका आधारमा आईएसपीसँगको सहकार्यमा ब्लक गर्ने काम भइरहेको छ।

महतोले एउटा वेबसाइट बन्द गर्दा अर्को नयाँ वेबसाइट सञ्चालनमा आउने चुनौती रहेको उल्लेख गर्दै त्यस्ता नयाँ साइटको पहिचानका लागि ‘थ्रेट इन्टेलिजेन्स टुल’ प्रयोग गरी निरन्तर निगरानी गरिरहेको बताउनुभयो। यसका लागि छुट्टै जनशक्तिसमेत परिचालन गरिएको उहाँको भनाइ छ।

प्राधिकरणले सर्वसाधारणलाई पनि यस्ता अवैधानिक वेबसाइटबारे जानकारी भए सम्बन्धित गिटहब पोर्टलमार्फत सूचना उपलब्ध गराउन आग्रह गरेको छ।

खबरपाटी
खबरपाटी