काठमाडौं – देशका केही स्थानमा आज वर्षा हुँदा केही भूभागमा भने तातो दिन हुनेछ । कतै मध्यमसम्मको वर्षाको पूर्वानुमान गर्दा केही स्थानमा तातो हावाको लहर चल्नेछ ।
जल तथा मौसम विज्ञान विभागले दिउँसो हिमाली र पहाडी भूभाग साथै कोसी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । मधेस, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसमसफा रहनेछ । देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोसी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका थोरै स्थानमा, वाग्मती र गण्डकी प्रदेशको तराईका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो हावाको लहर चल्नेछ । वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।
विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने बताएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोसी प्रदेशका तराई भूभाग र मधेस प्रदेशको थोरै स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशको तराईका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
मौसमविद् विनोद पोखरेल अर्को हप्ता नेपालभर वर्षा हुने बताउँछन् । असार १५ देखि वर्षा हुने उनको भनाइ छ ।
“पश्चिम तराईको धेरै ठाउँमा पानी नपरेको धेरै भइसक्यो । यो क्रम अझै सोमबारसम्म रहने देखिन्छ,” उनी फेसबुकमा लेख्छन्, “असार १५ मा नेपालको धेरै ठाउँमा वर्षाको राम्रो सम्भावना छ ।” तर, मनसुन भने त्यसपछि मात्रै पश्चिम नेपाल पुग्ने उनको भनाइ छ । हाल कोसी, मधेस र वाग्मती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव छ । अन्य भूभागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।