काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दासमेत नेपालमा इन्धनको मूल्य नघटाइएको भन्दै सरकारको आलोचना गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले इन्धनको मूल्यवृद्धिले सर्वसाधारण र किसानहरू सबैभन्दा बढी प्रभावित भएको बताए। अन्तर्राष्ट्रिय परिस्थितिका कारण विश्व बजारमा उतारचढाव भए पनि नेपालमा मूल्य समायोजन नहुनु चिन्ताजनक रहेको उनको भनाइ थियो।
भाटले युद्ध र तनावपूर्ण अवस्था रहेका बेला समेत छिमेकी भारतमा इन्धनको मूल्य स्थिर रहेको उल्लेख गर्दै नेपालमा भने अस्वाभाविक रूपमा मूल्य बढाइएको दाबी गरे। अहिले अन्तर्राष्ट्रिय अवस्था सामान्य बन्दै गएको अवस्थामा पनि उपभोक्ताले राहत नपाएको उनको गुनासो थियो।
उनले कृषि क्षेत्रमा इन्धनको प्रत्यक्ष प्रभाव पर्ने भएकाले किसानलाई राहत दिन तत्काल मूल्य घटाउन सरकारसँग माग गरे। खेतीपातीदेखि ढुवानीसम्म इन्धन अपरिहार्य बनेको अवस्थामा मूल्यवृद्धिले उत्पादन लागत बढाएको भन्दै उनले सरकारलाई शीघ्र मूल्य समायोजन गर्न आग्रह गरे।