भारतले गरेको निकासीमा अवरोधका कारण झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

भारतले गरेको निकासीमा अवरोधका कारण झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

काठमाण्डौ – भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने भएका छन् ।
नेपाल चिया उत्पादक सङ्घले आज झापामा पत्रकार सम्मेलन गरेर सरकार र भारत दुवैतर्फबाट समस्या समाधानका लागि पहल नभएपछि बाध्य भएर उद्योग तथा बगान बन्द गर्नुपरेको जनाएको छ । इलामका ५० भन्दा धेरै अर्थोडक्स चिया उद्योग असार १ गतेदेखि बन्द भइसकेका छन् ।
झापामा साना–ठूला गरी ३० भन्दा धेरै चिया उद्योग र झन्डै दुई दर्जन चिया बगान बन्द हुने सङ्घले जनाएको छ । झापामा अर्थोडक्स र सीटीसी गरी वार्षिक १२ देखि १४ अर्ब रुपैयाँ बराबरको चिया उत्पादन हुने गर्छ । यो व्यवसायमा झन्डै ६० हजार श्रमिक, कर्मचारी र किसान आश्रित छन् । चिया निर्यात गर्न नपाएर थन्किँदा झमिको ज्याला र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिनसमेत कठिन भएको व्यवसायीको भनाइ छ ।
आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै सङ्घका अध्यक्ष आदित्य पराजुलीले ४५ दिनदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो । आफ्ना कुरा सम्बन्धित निकायसम्म पुर्‍याउनसमेत कठिन भएको उद्योगी बताउँछन् । सरकारले चासो नदेखाएको र उद्योगी व्यापारीको तर्फबाट गरेको प्रयास सफल नभएका कारण उद्योग र बगान बन्द गर्नुको विकल्प आफूहरूसँग नरहेको उहाँको भनाइ छ ।
यसैबीच नेपाली कांग्रेसका सचेतक निश्कल राईले तेस्रो देशमा चिया निर्यातका लागि बजारको सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ । गुणस्तर परीक्षणका नाममा भारतले चिया निर्यातमा रोक लगाएपछि उहाँले आज प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै यस्तो माग गर्नुभएको हो ।सचेतक राईले भारतले चिया निर्यातमा रोक लगाउँदा चिया उद्योग बन्द भई आश्रित श्रमिकहरूको बेहाल हुँदा पनि सरकारले समस्या समाधानका लागि पहल नगरेको गुनासो गर्नुभयो ।

खबरपाटी
खबरपाटी