बैंकिङ प्रणालीको अधिक तरलता घटाउन ४५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीको अधिक तरलता घटाउन ४५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले २८ दिनको लागि ४५ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएका कारण सो रकमबराबरको निक्षेप संकलन गर्न लागेको हो । 

यसअघि गत जेठ २९ गते पनि राष्ट्र बैंकले प्रणालीबाट एक खर्ब रुपैयाँको १९ दिने निक्षेप संकलन गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूमा खर्बौं रुपैयाँ बढी अधिक लगानीयोग्य पुँजी (तरलता) रहेकोले राष्ट्र बैंकले यसलाई पटक–पटक मौद्रिक उपकरणमार्फत प्रशोचन गर्दै व्यवस्थापन गरेको हो । कर्जाको माग नबढ्दा लामो समयदेखि यही स्थिति कायम छ । 

जारी उक्त उपकरणको बोलकबोल र निष्कासन आजै (असार ३ गते) हुने भएको छ । यसमा इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

यसको साँवा तथा ब्याज भुक्तानी आगामी असार ३१ गते हुनेछ । यसको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण गरिनेछ । यसमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरू, विकास बैंकहरू र वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।

खबरपाटी
खबरपाटी