बाँदर व्यवस्थापनको विषय सजिलो नभएकोले अध्ययन हुँदै : प्रधानमन्त्री शाह

बाँदर व्यवस्थापनको विषय सजिलो नभएकोले अध्ययन हुँदै : प्रधानमन्त्री शाह

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले बाँदर व्यवस्थापनको विषय सजिलो नभएकोले अध्ययन भइरहेको बताएका छन्। 

प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसदहरुले राखेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भने बाँदर व्यवस्थापनका सन्दर्भमा अध्ययन गर्न गठित समितिले काम गरिरहेको बताएका हुन्। 

‘यो एकदमै पेचिलो र तुरुन्तै गर्न नसकिने विषय भएकाले र हामी हत्या हिंसामा नजाऔं भन्ने सोचका साथ सरकारले वैकल्पिक उपाय के हुनसक्छ त्यो सोच्दैछ’, उनले भने, ‘अन्य विभिन्न देशहरुमा बाँदर व्यवस्थापन गर्न कुन उपाय लगाइएको छ हेर्दैछौं, अध्ययन रिपोर्ट आएपछि त्यसैअनुसार सरकारले काम गर्नेछ।’

श्रम संस्कृति पार्टीका तर्फबाट प्रतिनिधिसभाका सदस्य आर्यन राईले ‘बाँदर व्यवस्थापन कहिले हुन्छ ? ’ भनि प्रश्न गरेका थिए। 

‘कृषि र किसानबीना स्वाधिन देश परिकल्पना गर्न सक्ने जस्तो लाग्दैन। लाखौं किसानसँग जोडिएको विषय भएकाले यसमा हाँस्ने कुरा होइन, बाँदर व्यवस्थापनका लागि सबैले गम्भिर भएर लाख्नुपर्छ’ सांसद राईले भने।

उनले बाँदर व्यवस्थापनका लागि प्रधानमन्त्रीको कार्यकक्षमा पुगेर लिखित रुपमै ३ वटाउपाय सुझाएको समेत स्मरण गराए। सांसद राईको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री शाहले विश्वका अन्य देशले अपनाएका बाँदर व्यवस्थापनका उपायहरुबारे जानकारी समेत गराए।

‘यो एकदमै गाह्रो गाह्रो विषय हो, सजिलो छैन, विश्वमा जहाँपनि हेर्दाखेरी, बाँदरले बाली खाने रोकथाम गर्दा,  कि त खेतलाई वायरिङ्ग गरेर घेरेर राखिन्छ जुन एकदमै खर्चिलो हुन्छ, कि त जँगललाई नै वायरिङ्ग गरेर राखिन्छ, मानव वस्ती र जँगली जनावरलाई छुट्याएर राखिने चलन छ’  प्रधानमन्त्री शाहले भने।

खबरपाटी
खबरपाटी