काठमाडौं - विश्वकै सबैभन्दा ठूलो सामाजिक तथा मानवीय सेवा संगठन Lions Clubs International अन्तर्गत नेपाल च्याप्टरको राष्ट्रिय महाअधिवेशन यही जेठ १६ गते काठमाडौंमा आयोजना हुने भएको छ।
काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा हुने महाअधिवेशन सम्माननीय सभामुख Dol Prasad Aryal को प्रमुख आतिथ्यतामा सम्पन्न हुने आयोजकले जनाएको छ। कार्यक्रममा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित २० जना लायन्स सदस्य सांसदहरूलाई सम्मान गरिनेछ। सभामुख अर्याल स्वयं पनि लायन्स सदस्य हुनुहुन्छ।
लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत नेपालमा करिब ४७ हजार सक्रिय सदस्य, २ हजार ४ सय क्लब तथा १५ वटा डिस्ट्रिक्ट रहेका छन्। संस्थाको ५५ वर्षे इतिहासमा पहिलोपटक महिला अध्यक्ष (काउन्सिल चेयरपर्सन) निर्वाचित भई पोखराकी Milan Thapa ले नेपाल लायन्सको नेतृत्व गरिरहनुभएको छ। उहाँको कार्यकाल आगामी जुन ३० मा सकिनेछ भने जुलाई १ देखि नयाँ लायन्स वर्ष सुरु हुनेछ।
नयाँ नेतृत्व चयनका लागि यही जेठ १४ गतेदेखि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ। लायन्स मल्टिपलको विधानअनुसार काउन्सिल परिषद्को अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सहसचिव पदका लागि निर्वाचन हुनेछ भने केही पद मनोनयनमार्फत पूर्ति गरिनेछ।
लायन्स अन्तर्राष्ट्रियले नेपालमा स्वास्थ्य, शिक्षा, वातावरण तथा मानवीय सेवाका क्षेत्रमा दुर्गम क्षेत्रसम्म पुगेर सेवा प्रदान गर्दै आएको छ। भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक विपद्का बेला राहत तथा उद्धारमा समेत लायन्सका सदस्यहरू सक्रिय रहने गरेका छन्। अन्धोपन निवारण, दादुरा–रुबेला खोप अभियान, आँखा अस्पताल, मुटुरोग उपचार केन्द्र तथा विद्यालय भवन निर्माणमा पनि संस्थाले महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
सन् १९१७ मा अमेरिकाको शिकागोमा स्थापना भएको लायन्स अन्तर्राष्ट्रिय नेपालमा भने सन् १९७१ मा स्वर्गीय पूर्वप्रधानमन्त्री Matrika Prasad Koirala को नेतृत्वमा विराटनगरबाट सुरु भएको थियो।
यस वर्षको अन्तर्राष्ट्रिय महाधिवेशन आगामी जुलाई ३ देखि ७ तारिखसम्म Hong Kong मा आयोजना हुँदैछ। साथै आगामी डिसेम्बर १६ देखि १९ सम्म विभिन्न १४ देशका करिब ३ हजार प्रतिनिधि सहभागी हुने क्षेत्रीय सम्मेलन ‘ISAME Forum’ पनि काठमाडौंमा आयोजना गरिने तयारी रहेको छ।