अमेरिका र इरानबीच शुक्रबार पाकिस्तानमा उच्चस्तरीय वार्ता

अमेरिका र इरानबीच शुक्रबार पाकिस्तानमा उच्चस्तरीय वार्ता

काठमाडौं – अमेरिका र इरानबीच भोलि पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय वार्ता हुँदैछ। पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले पश्चिम एसियामा युद्धविरामको घोषणापछि पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डललाई इस्लामाबादमा स्वागत गर्ने बताएका छन्। 

उनले दुवै देशको नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै विवाद समाधानार्थ निर्णायक वार्ता गर्न आमन्त्रित गरेका हुन्। पछिल्लो समयमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग घनिष्ठ सम्बन्ध बनाउँदै छिमेकी इरानप्रति संवेदनशील रहेको पाकिस्तान अहिले तेहरान र वासिङ्टनबीच मध्यस्थकर्ताका रूपमा देखापरेको छ। 

प्रधानमन्त्री सरिफले ‘इस्लामावाद वार्ता’ दिगो शान्ति प्राप्त गर्न सफल हुने विश्वाससमेत व्यक्त गरेका छन्। तेहरान र वासिङ्टन दुवै राष्ट्रपति ट्रम्पको इरानलाई नष्ट गर्ने समयसीमा समाप्त हुनुभन्दा एक घण्टाअघिमात्र बुधबार बिहान दुई साताको युद्धविरामका लागि सहमति भएका हुन्। पाकिस्तानको मध्यस्थतामा अमेरिका÷इजरायल र इरानबीचको ४० दिने युद्ध रोकिएको हो। 

इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको थियो। इजरायल र अमेरिकाले फेब्रुअरी २८ मा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित ५० भन्दा बढी उच्च नेता र अधिकारीको हत्या गरेका थिए। त्यसलगत्तै तेहरानबाट प्रतिक्रियास्वरूप खाडी राष्ट्रहरू, अमेरिकी सैन्य अखडा र इजरायलमाथि जवाफी आक्रमण सुरु गरेको थियो। 

इरान समर्थित समूह हेजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान पनि द्वन्द्वमा तानिएको थियो। सरिफले लेबनानसहितका क्षेत्रमा युद्धविराम लागू भएको बताएका छन्। यद्यपि इजरायलले त्यस क्षेत्रमा हेजबुल्लाहविरुद्ध कारबाही गरिरहेको जनाउँदै यस क्षेत्रमा युद्धविराम लागु नभएको जिकिर गरेको छ। 

टर्की र इजिप्टले पनि हालैका दिनमा मध्यस्थता गर्न मद्दत गरिरहेका थिए भने चीनले इरानलाई वार्ताको टेबलमा ल्याउन मद्दत गरेको ट्रम्पलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। 

दुवैले विजयी भएको दाबी
युद्धविराममा सहमति जनाएपछि अमेरिका र इजरायल दुवैले आफूलाई विजयकर्ता घोषणा गरेका छन्। यस घटनापछि विश्वभरबाट आएका प्रतिक्रियाले पश्चिम एसियामा शान्ति र स्थिरता कायम राख्ने चुनौतीको गम्भीरतालाई उजागर गरेका छन्।

युद्धविरामको स्वागत
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धविरामको स्वागत गर्दै सबै पक्षलाई दीर्घकालीन शान्तिका लागि काम गर्न आह्वान गरेका छन्। दक्षिण कोरियाले युद्धविरामको स्वागत गर्दै यसले हर्मुज जलमार्ग हुँदै आफ्ना सबै जहाज सुरक्षित मार्गमा ल्याउने विश्वास व्यक्त गरेको छ। 

अस्ट्रेलियाले युद्धको दीर्घकालीन असरको चेतावनी दिँदै युद्धविराम कायम राख्न र द्वन्द्व समाधानमा ध्यान दिनुपर्ने बताएको छ। न्युजिल्यान्डले युद्धविरामको स्वागत गरेपनि स्थायी शान्ति कायम गर्न अझै महत्वपूर्ण काम बाँकी रहेको बताएको छ। जापानले हर्मुज जलमार्गमार्फत सुरक्षित नेभिगेसन सुनिश्चित गर्न ठोस कदम आवश्यक रहेको बताएको छ। 

इराकले युद्धविरामलाई स्वागत गर्दै अमेरिका र इरानलाई गम्भीर र दिगो संवादका लागि आह्वान गरेको छ। इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले इरानले भविष्यमा आणविक, क्षेप्यास्त्र तथा आतंकवादसम्बन्धी खतरा नउठाउने सुनिश्चित गर्न अमेरिकाले चालेका प्रयासमा पनि इजरायलको साथ रहने बताएका छन्। 

कच्चा तेलको मूल्य घट्यो
यसैबीच युद्धविराम घोषणा भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य १७ प्रतिशतभन्दा बढीले घटेको छ भने एसियाली सेयर बजारमा सुधार देखिएको छ। यद्यपि दीर्घकालीन समाधानका विषयमा अझै मतभेद कायम छन्। इरानले अमेरिकी प्रतिबन्ध हटाउने, हर्मुजमा आफ्नो प्रभुत्व स्वीकार गर्नुपर्ने र क्षेत्रबाट अमेरिकी सेना फिर्ता गर्नुपर्ने माग अघि सारेको छ। साथै आफ्नो युरेनियम संवर्धन कार्यक्रमलाई मान्यता दिनुपर्ने अडान पनि दोहो¥याएको छ। 

ट्रम्पले भने कुनैपनि अन्तिम सम्झौतामा इरानको आणविक कार्यक्रम पूर्णरूपमा नियन्त्रणमा ल्याइनुपर्ने बताएका छन्। इरान आणविक हतियारनजिक पुगेको उनको दाबीलाई अन्तर्राष्ट्रिय निकायले भने समर्थन गरेका छैनन्।

रातभरि मानव साङ्लो
ट्रम्पले इरान ध्वस्त पार्ने कडा चेतावनी दिएपछि इरानमा ऊर्जा संरचनाको सुरक्षाका लागि नागरिकले मंगलबार रातभरि मानव साङ्लो बनाएको दृश्य सार्वजनिक भएको छ। युद्धविराम घोषणा भएलगत्तै तेहरानमा सरकारको समर्थनमा प्रदर्शन भएका छन्। प्रदर्शनकारीले अमेरिका र इजरायलविरुद्ध नाराबाजी गर्दै झन्डा जलाएका छन्, जसले देशभित्रको कट्टर असन्तुष्टि झल्काउँछ। 

यस युद्धमा दुई हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। इरान, इजरायल, लेबनान र खाडी क्षेत्रमा फैलिएको हिंसाले ठुलो मानवीय र आर्थिक क्षति पु¥याएको छ। हर्मुज जलमार्गमा इरानले अवरोध गरेपछि विश्व अर्थतन्त्रमा समेत चर्को दबाब सिर्जना भएको छ।

खबरपाटी
खबरपाटी