नेकपा एमालेको आगामी कार्यदिशा

नेकपा एमालेको आगामी कार्यदिशा

शोषित पीडित, श्रमजीवी , सर्वहारा समुदायको हित र मुक्तिका लागि २००६ सालमा पुष्पलालले कम्युनिस्ट पार्टी गठन गर्नु भएको थियो! विचारको बहसले छिन्न भिन्न भएको घटकहरू कोअर्डिनेसन केन्द्र निर्माण गरी नेकपा माले गठन भएको थियो! २०२८ को झापा विद्रोहले कम्युनिस्ट आन्दोलनमा ठूलो क्षति पुर्‍याएपछि शान्तिपूर्ण बाटो खोज्दै गर्दा पाँचौं महाधिवेशनले जनताको बहुदलीय जनवादी कार्यक्रम पारित गर्दै माले पार्टीलाई विचारमा एकरुपता भएकाहरूलाई एकीकृत गर्दै पार्टीले आधारभूत तहका गरी खाने वर्ग र राष्ट्रिय पूँजीपति वर्गसमेतलाई सचेत बनाउँदै, सचेत मानिसहरूको शान्तिपूर्ण पहलकदमीबाट समाजको आमूल परिवर्तन हुन सक्छ भन्ने मान्यता प्रजातन्त्र पुनर्स्थापना पछि भएका निर्वाचनहरू र मूलत २०६२-६२ को जनआन्दोलनले जबज को प्रयोग सारभूत रूपमा प्रमाणित गर्‍यो ! २५० वर्षीय वंश परम्परामा आधारित राजतन्त्रको अन्त्य भयो! स्थापनादेखि संवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्र भन्ने कांग्रेसले गणतन्त्रलाई स्वीकार गर्यो! सशस्त्र विद्रोह गरेर पुरानो सत्तालाई ध्वस्त गरेर नयाँ जनवादी राज्य सत्ता स्थापना गर्ने हिंसात्मक कार्यदिशा बोकेको माओवादी शान्ति प्रक्रियामा सामेल भई हतियार त्याग्न सहमत भयो। माओवादी सहितको संलग्नतामा भएको ६२-६३ को जनआन्दोलन पछि निर्वाचित संविधानसभाले राजतन्त्रको अन्त गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो! यो सम्भव छ भन्ने मान्यता र कार्यक्रम नेकपा एमालेको जनताको बहुदलीय जनवादको मान्यता हो! नेकपा एमालेको कार्यक्रम हो। नेकपा एमालेको नेतृत्वमा ६२ - ६३ को जनआन्दोलनले राजतन्त्रको उन्मूलन भएको र माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको इतिहास सबैले सही ढंगले बुझ्न जरुरी छ! 
यत्रो इतिहास भएको नेकपा एमाले पार्टी २०६४ को निर्वाचनमा तेस्रो हुन पुग्दा तत्कालीन महासचिव माधवकुमार नेपालले नैतिकताको आधारमा पदबाट राजीनामा गर्नुभएको थियो! पार्टी बिस्तारै उठ्यो! भूकम्पले थलिएको बेलामा भारतले लगाएको नाकाबन्दीको सामना गर्यो! चुच्चे नक्सा जारी गर्न राष्ट्रिय सहमति जुटायो! एकाएक दक्षिण एसियामा नै चर्चा कमाउँदै, राष्ट्रवादी नायकको रूपमा हाम्रो पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्थापित हुँदै गए! जनमतको आधारमा मुलुकको सबैभन्दा ठूलो पार्टी हुन पुग्यो! पार्टीको विचार र कार्यक्रम स्थापित हुँदै गएपछि ! अन्य झिना मसिना विचारहरू स्वभाविक गौण हुँदै गए। पार्टीमा सामूहिक नेतृत्वबाट केन्द्रीकृत हुँदै गयो। समकक्षी नेताहरूको बीचमा तिक्तता बढ्दै गयो। गुड फुट र विभाजन प्रारम्भ भयो। फेरि पनि नेकपा एमाले शक्तिशाली मात्र नभईकन मुलुकको सबैभन्दा बढी मत भएको पार्टीको रूपमा नै स्थापित थियो। पार्टी र मूल नेताको प्रभाव बढ्दै जानुले प्रतिस्पर्धी र विरोधीहरू घेराबन्दी गर्दै थिए, त्यसलाई प्रतिवाद गर्न परास्त गर्न पार्टी नेतृत्व अलि बढी केन्द्रित हुँदै जाँदा पार्टीको अन्तर जनवाद कमजोर हुँदै गयो। पार्टी नेतृत्व सानो घेरामा रमाउन थाल्यो ! घटनाक्रमलाई आफ्नो हितमा  नियन्त्रण राख्ने उद्देश्यले पार्टीको स्थायी मान्यता विपरीत संसद विघटन लगायतको कमजोरी हुँदै गयो। जनताको एमालेलाई अपार समर्थन रहिरहेको अवस्थामा पार्टीका बहुमत सदस्यले नेतृत्वलाई साथ दिँदै गयो! अल्पमतको सम्मानको ठाउँमा निगरानीमा राख्ने घृणा गर्ने निषेध गर्ने सम्मका परिस्थितिले पार्टीको आन्तरिक एकता कमजोर हुँदै गएको स्थिति छ। 
पार्टीको आन्तरिक जीवनको समीक्षा गरिरहँदा, सम्पन्न निर्वाचनको निरपेक्ष ढङ्गले समीक्षा गर्नु गलत हुनेछ। परिणाममा मूल नेतृत्व मूल दोषी त रहन्छ तर तहगत सबै नेता नेतृत्व जवाफदेही भने हुनुपर्दछ। यसो भनिरहँदा फेरि निर्वाचन पूर्व नै पार्टी नेतृत्वको सन्दर्भमा एघारौं महाधिवेशनमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण विषय उठेको नै थियो। महाधिवेशनले अध्यक्षलाई अत्यधिक बहुमतले निर्वाचित गर्यो त्यसकारण निर्वाचनको परिणाम मा जस र अबजस पार्टी अध्यक्षलाई मात्रै नभइकन समग्र मौजुदा केन्द्रीय कमिटी दोषी रहन्छ!जवाफदेही हुनुपर्दछ! त्यसकारण सबैभन्दा पहिला केन्द्रीय कमिटी विघटन गरी पार्टी अध्यक्षले नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धतासहित विशेष महाधिवेशन आयोजना गरीनु पर्दछ। औपचारिक कमिटीहरू र जनसंगठन संगठन विगठन गरिनुपर्दछ। आरक्षण सबैभन्दा खतरनाक विषय हो। जसले पार्टीलाई निरङ्कुश बनाएको छ। पार्टी लोकतन्त्र कमजोर भएको छ। नयाँले निर्वाचित हुने सम्भावना कमजोर  भएको छ।घटनाक्रमले नयाँ विचार जन्माउँछ! व्यापक बहस छलफलले विचारलाई समृद्ध बनाउँछ। त्यसैले नेकपा एमाले सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीमा विश्वास राख्दछ। जसका कारण नेकपा एमाले जनतामा लोकप्रिय थियो । राजनीतिक वृतमा शक्तिशाली थियो। 
नेकपा एमाले ६२-६३ को जनआन्दोलनपछि भौतिक रूपमा चुलिएको देखिएता पनि वैचारिक हिसाबले राजनीतिक मूल्य मान्यताको हिसाबले सैद्धान्तिक मार्गमा केही अस्पष्टता केहि बीचलनहरू देखिएका छन्। त्यो के हो त भने, निर्वाचनको प्रतिस्पर्धामा सङ्ख्यात्मक श्रेष्ठताको लागि चुनाव जित्ने नाममा जसरी पनि चुनाव जित्न सक्नेलाई दिँदै जाँदा हाम्रो पार्टीको समाजिक र आर्थिक जीवन अपारदर्शी हुँदै जाँदा आमरुपमा पार्टी नेतृत्वलाई मात्रै नभईकन पार्टी कार्यकर्ता समेतलाई भ्रष्टाचारीको आरोप लाग्न थालेको छ। जनता शङ्का गर्न थालेको छन ! परिणाम निर्वाचनले पुष्टि गरेको छ।
तसर्थ नेकपा एमालेले आफ्नो वर्ग पक्षधरता स्पष्ट पार्न जरुरी छ। नेकपा एमाले कम्युनिस्ट पार्टी हो वा होइन स्पष्ट हुन जरुरी छ। नेकपा एमाले मास पार्टी हो वा जन आधारित कार्यकर्ता पार्टी हो। अहिले नेकपा एमालेमा आधारभूत तहका गरी खाने वर्गभन्दा मध्यम वर्गको बर्चस्व  रहँदै गयो ! निम्न पूँजीपति वर्गले प्रभाव पार्दै गयो! पार्टी कार्यकर्ता नेतृत्वको निर्देशन पालना गर्न छाडे ! हामीलाई पनि थाहा छ! हामी मान्दैनौँ भन्न थाले। तल्ला कमिटी माथिल्लो कमिटीको निर्देशन पालना गर्नु छाडे! पार्टी सदस्यता समेत पैसा हुनेले नवीकरण गरिदिने, पार्टीलाई नियमित लेवी नतिर्ने, पार्टी कमिटी र नेताहरूले राम्रो आम्दानी भएको व्यक्ति वा संस्थासँग रकम लिएर पार्टीको आन्तरिक जीवन धान्न थाले। यसको थालनी नेकपा एमालेको केन्द्रीय कार्यालय जुन मदननगर बल्खुमा बन्यो। त्यो भव्य आलिसान महल को लागत कति थियो? स्रोत के हो? पार्टीले आधिकारिक अभिलेख राखेनन्! भवन बन्यो! कसले कसरी बनायो भनेर सोधनी गर्दा जानकारवाला नेताहरू मौखिक रुपमा भन्थे यो वामदेव कमरेड लाई मात्र जानकारी छ। त्यो कति गलत कार्य थियो ? कसैले औपचारिक प्रश्न उठाएको मैले आजसम्म थाहा पाएको छैन। म व्यवस्थापन संकायको विद्यार्थी , रामेछाप काठमाडौँ सम्पर्क मञ्चको ५२ सालतिरको कोषाध्यक्ष, २०५६ सालदेखि तीन कार्यकारामेछापको आर्थिक विभाग प्रमुख रहेको कारणले पनि मैले चासो राख्ने गरेको थिएँ! यसरी राज्यलक्ष्मी गोल्छालाई सांसद बनाउँदा पार्टीलाई आरोप लागेको थियो! दुर्गा प्रसाईलाई केन्द्रीय सदस्य बनाउँदा पनि आलोचना भएको थियो! लार्केन लामालाई मन्त्री बनाउँदा  पनि धेरै आलोचना भएको थियो। संसद  विघटन सबैभन्दा गलत थियो। तर एमालेको बहुमतले त्यसलाई सही काम भन्यो! समयक्रमले त्यो क्यान्सरको रूपमा प्रकट हुँदै जाँदा ज्यान नै लियो। जुन आज हामी लज्जास्पद तेस्रो स्थानको राष्ट्रिय दल बन्न पुगेका छौं। भन्दैछौं मरेका छैनौँ। लडेका मात्रै हौँ। अनि भन्दैछौं धुलो टकटकाएर फेरि उठ्नेछौं। अनि गर्दैछौँ, पार्टी शुद्धिकरणका लागि उठेका आवाज लाई गिज्याउँदै छौँ, फरक विचार राख्ने लाई पार्टी विरोधी हुन् भन्दैछौं, अनि पार्टी छोडेर जाऊ समेत भन्न भइरहेका छौं। यसले हाम्रो पार्टीलाई बलियो बनाउँछ? हाम्रो पार्टी बलियो बन्ला नबन्ला त्यो फरक कुरा हो। तर नेकपा एमाले कमजोर हुँदा नेपाली राष्ट्रियता कमजोर हुन्छ! बहुसंख्यक गरीखाने वर्ग संकटमा पुग्न सक्छन ! थिचोमिचोमा पर्न सक्छन। त्यसका लागि पनि हामी राष्ट्रवादी प्रगतिशील विचार राख्ने एमालेहरू एकठ्ठा अझै बलियो सुदृढ भएर अगाडि बढ्नु पर्दछ। 
जबज भनेको चुनावदेखि सत्ता सम्म भन्ने होइन ! समयले कम्युनिष्ट पार्टी भनिराख्न उपयुक्त छैन भने हार्दिकतामा महाधिवेशनद्वारा पारित गरेर जानुपर्दछ। जनतालाई नढाँटिकन भन्नुपर्दछ। हाम्रो लक्ष्य समाजवाद हो। समाजवाद स्थापना गर्न पुँजीको चरम विकास हुनुपर्दछ। त्यो भनेको पुँजीवादी व्यवस्था नै हो। हामी पुँजीवादको विरोध गर्ने फेरि समाजवाद ल्याउन पहिले पुँजीवाद नैचाहिने ! यो कुरा नेकपा एमालेको पङ्क्तिले बुझेका छन्। जनताले बुझेका छन् कि छैनन्। आज नेकपा एमालेका समर्थक शुभचिन्तक कार्यकर्ता मात्रै नभईकन नेताहरू समेत यो विषयमा अस्पष्ट भएको पाइन्छ! भूमिगत कालमा कम्युनिस्ट पार्टीको सम्पर्कमा रहेका नेता भइसकेका व्यक्तिहरू समेत आवश्यक कम्फर्टको जीवनभन्दा पनि विलासी लगजरी जीवन को कल्पना गरिरहेका छन् । केहिले भोगी पनि रहेका छन्। यसले आम जनतामा सबै दलहरू उस्तै हुन् सबैको लक्ष्य सत्ता मात्र भन्ने निराशा भएकाले पनि जेन्जीको नाममा गरिएको आन्दोलनलाई कब्जा गरेर गरिएको सत्ता कब्जाको विद्रोह लाई साथ दिए  र निर्वाचनमा नयाँको नाममा घन्टीमा भोट हाले भन्ने आम नागरिकहरूको विश्लेषण रहिआएको छ। त्यसैले नेकपा एमाले ले आफ्नो कार्यदिशा स्पष्ट पार्न र लोकप्रिय नयाँ नेतृत्व निर्माण गर्नको लागि पनि विशेष महाधिवेशन जरुरी छ।

खबरपाटी
खबरपाटी