न्युजिल्यान्ड आईसीसी टी–२० विश्वकपको फाइनलमा प्रवेश

न्युजिल्यान्ड आईसीसी टी–२० विश्वकपको फाइनलमा प्रवेश

काठमाण्डौ – न्युजिल्यान्ड आईसीसी टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै न्युजिल्यान्ड फाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिकाले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको न्युजिलयन्डले १२ ओभर ५ बलमा १ विकेट गुमाएर भेटायो । न्युजिल्यान्डका ओपनर फिन एलेनले ३३ बलमै शतक बनाउँदै कीर्तिमान बनाए । यो टी–२० विश्वकप इतिहासकै छिटो बनाएको शतक हो ।

त्यसअघि भारतको कोलकातामा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका मार्को यानसेनले अविजित ५५ रन बनाए । न्युजिल्यान्डका लागि म्याट हेनरी, कोल मेकोन्की र रचिन रविन्द्रले २–२ विकेट लिए ।

भारत र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बेलुकी सवा ७ बजे हुँदैछ ।

१०औँ संस्करणको प्रतियोगिताको फाइनल खेल आउँदो आइतवार फागुन २४ गते भारतको गुजरातमा रहेको अहमदाबादमा हुनेछ ।

खबरपाटी
खबरपाटी