पार्टी संस्थापन पक्षको समर्थनमा खुलेर मैदानमा उत्रिए प्रदीप ज्ञवाली

पार्टी संस्थापन पक्षको समर्थनमा खुलेर मैदानमा उत्रिए प्रदीप ज्ञवाली

काठमाडौं - केपी शर्मा ओलीको टिमबाट महासचिवमा नसमेटिएपछि असन्तुष्ट बनेका एमाले नेता प्रदीप ज्ञवाली अन्तत: ओली टिमलाई नै जिताउन लागिपरेका छन्। उनी पार्टी संस्थापन पक्षको समर्थनमा खुलेर मैदानमा उत्रिएका छन्। 

ज्ञवालीले महासचिवमा सशक्त दाबी पेस गरेका थिए। तर ओलीले शंकर पोखरेललाई नै दोहोर्‍याउने गरी उम्मेदवार बनाएपछि ज्ञवाली रिसाएर महाधिवेशन स्थलबाटै बाहिरिएका थिए। उपाध्यक्ष पद अस्वीकार गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उनले ओली टिमकै लागि मतसमेत माग्न थालेका छन्। 

महाधिवेशन मतदान स्थलमा पुगेका ज्ञवालीले महासचिवका उम्मेदवार पोखरेलसँगै प्रतिनिधिहरूसँग भेटघाट गर्दै मत माग्न थालेका हुन्। उनले ओली नेतृत्वको टिम विजयी भए मात्र एमाले थप सुदृढ, एकताबद्ध र प्रभावकारी बन्ने धारणा राख्दै प्रतिनिधिहरूलाई सिङ्गो प्यानलमा मतदान गर्न आग्रह गरिरहेका छन्। 

प्रतिनिधिहरूसँगको संवादमा ज्ञवालीले व्यक्तिगत असन्तुष्टि भन्दा पार्टी हित ठूलो हुने बताएका छन्। “मेरा केही असहमति थिए, तर म भन्दा माथि पार्टी हो,” उनले भनेका छन्, “पार्टीलाई बलियो बनाउन म केपी ओली र शंकर पोखरेलसँगै छु।” 

 

खबरपाटी
खबरपाटी