काठमाडौं - साफ महिला क्लब च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाली क्लब एपीएफले आज भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दैछ। खेल नेपाली समय अनुसार साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ।
यो खेल जित्दै नेपाली टिम फाइनल नजिक पुग्न चाहन्छ। यता, ट्रान्सपोर्टका लागि यो खेल गर वा मरको स्थितिमा रहेको छ। किनभने उसले दुई खेलसम्म पनि गोल गर्न सकेको छैन। दुई खेलमा उसले एक बराबरी र एक हारको सामना गरेको छ। भारतीय टिमसँग ४–० ले पराजित भए पनि भुटानी टिमका प्रशिक्षकले बाँकी दुई खेल जितेर फाइनल नै पुग्ने दाबी गरेका छन्।
नेपाली टिममा रश्मी घिसिङ, मिना देउवा, अनिता केसी, सरू लिम्बुजस्तो उत्कृष्ट फरवार्ड र मिडफिल्डर छन्। एपीएफले आजको खेल जिते एक खेल अगावै फाइनल यात्रा तय गर्न सक्नेछ।
यसअघिको एक एक खेलमा एपीएफ र भारतको इस्ट बंगालले मात्रै स्पष्ट तीन तीन अंक जोडेका छन्। आजै २ बजे हुने खेलमा इस्ट बंगालले पाकिस्तानको कराँची सिटीसँग खेल्नेछ।
इस्ट बंगाल र एपीएफ दुवै टिम विजेता बन्ने हो भने यी दुई टिम फाइनल पुग्ने लगभग पक्का हुनेछ।