भारतीय सञ्चारमाध्यमको प्रतिक्रिया अतिरञ्जित

भारतीय सञ्चारमाध्यमको प्रतिक्रिया अतिरञ्जित

नेपाल राष्ट्र बैंकले नेपालको चुच्चे नक्साअंकित १०० रुपैयाँको नयाँ नोट जारी गरेपछि भारतीय सञ्चारमाध्यममा तीव्र प्रतिक्रिया भएको देखिएको छ । हालै, राष्ट्र बैंकले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नक्साचित्रित नयाँ नोट जारी गरेको थियो ।  

लिपुलेक, लिम्पियाधुरा र कालापानीसम्बन्धी विवाद नयाँ भने होइन । भारतले त्यो क्षेत्रमा 'अनधिकृत कब्जा' गरेको भन्दै नेपालले केही वर्षपहिले संविधान नै संशोधन गरी नयाँ नक्सा जारी गरेको थियो । उता भारतले पनि त्यस क्षेत्र आफ्नो उत्तराखण्ड राज्यमा पर्ने भन्दै दाबी गर्दै आएको छ ।

अर्थात्, यो विवाद नयाँ होइन । नेपाल र भारत दुवैले त्यो क्षेत्र समावेश गरिएको आआफ्नो आधिकारिक नक्सा पनि जारी गरेका छन् । नेपालमा चुच्चे नक्सा भएको सिक्का पनि प्रचलनमा छ ।  पञ्चायतकालभन्दा पहिले पनि नेपालको आधिकारिक नक्सा चुच्चे नै थियो । यसैले भारतीय सञ्चारमाध्यमले चित्रण गरेजस्तो यो नेपालको 'निहुँ खोजाइ' होइन । 

यो नेपालको आफ्नो भूभागमाथिको दाबी हो । नयाँ नक्साअंकित नोट जारी गर्ने उपयुक्त समय हो/होइन भन्ने विषयमा विवाद हुन सक्ला । तर, नेपालमा चुच्चे नक्साका विषयमा कुनै विवाद छैन । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूभाग हुन् भन्नेमा सबै नेपाली नागरिक एकमत छन् ।      

नयाँ नोटका सम्बन्धमा भारतीय विदेशमन्त्रीको प्रतिक्रिया भने सञ्चारमाध्यमको जति 'आक्रामक' छैन । उनले नयाँ नक्साले स्थलगत यथार्थमा अन्तर नहुने टिप्पणी गरेका छन् । यसको अर्थ चुच्चे नोटको विषयलाई चर्काउनु जरुरी छैन भन्ने पनि हो ।

भारतीय राजनीतिका कारण पनि यो सामान्य संयोगलाई बढी नै चर्काइएको हुनुपर्छ । विशेषगरी विपक्षी नेताहरूले यस विषयमा सरकारले जवाफ दिनुपर्छ भनिरहेका छन् ।  भारतीय सञ्चारमाध्यम त यसै पनि 'सनसनी' फैलाउन बदनाम नै छ । 

चिन्ताको विषय के हो भने, नेपालमा अहिले अन्तरिम सरकार छ र राजनीतिक अस्थिरता छ । नेपालभित्र सबै उथलपुथल वा हलचलमा 'षड्यन्त्र' देख्नेहरूको संख्या पनि सानो छैन । त्यसमा पनि सबै नकारात्मक घटनामा 'भारतीय हस्तक्षेप' देख्नेहरू अपेक्षाकृत बढी नै छन् । 

यसैले, सानातिना घटना र टिप्पणीले समेत झस्काउने गर्छ । त्यसमाथि २०७२ को भूकम्पबाट थला परेकै बेला नेपालले भारतीय नाकाबन्दी व्यहोर्नुपरेको थियो । नाकाबन्दीका कारण भारतले भूकम्पलगत्तै उद्धारमा देखाएको सदाशयतासमेत ओझेलमा परेको स्मरणीय छ ।

नेपाल-भारत सीमाका बजारमा 'अनधिकृत' रूपमा दुवै देशका मुद्रामा कारोबार हुन्छ । नयाँ नोट सीमावर्ती भारतीय क्षेत्रका व्यापारीले स्वीकार नगर्न पनि सक्छन् । यसलाई नेपाली पक्षले संयमपूर्वक स्वीकार गर्नुपर्छ । यही मौकामा नेपाली र भारतीय मुद्राको विनिमय आधिकारिकरूपमा मात्र हुने व्यवस्था मिलाउनु उचित हुनेछ ।

नेपालले भारतीय सञ्चारमाध्यमको टिप्पणीप्रति प्रतिक्रिया व्यक्त गर्नु पनि जरुरी देखिँदैन । नेपालमा अहिले राजनीतिक रूपमा असामान्य अवस्था भएकाले पनि सरकार बढी संयमित हुनुपर्छ । अर्कातिर, नेपाली भूभागमाथिको स्वामित्वको दाबी भने कुनै पनि अवस्थामा छाड्न मिल्दैन ।

भारतीय मित्रहरूसँग नेपालको पक्ष बुझ्न र २१औँ  शताब्दीको पारस्परिक सम्बन्धलाई १८औँ शताब्दीको ब्रिटिस इन्डियाको चस्माबाट नहेर्न आग्रह गर्नुपर्छ । आशा गरौँ, नेपालको सार्वभौम सत्ता र भौगोलिक अखण्डताको सम्मान भारतले गर्नेछ । भारतीय जनमतलाई नेपालको पक्ष बुझाउन भारतस्थित दूतावासले पनि प्रयास गर्नुपर्छ ।        

खबरपाटी
खबरपाटी