माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार चुनौतीपूर्ण, नेपाली सेनाको ९० सदस्यीय टोली परिचालन

माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार चुनौतीपूर्ण, नेपाली सेनाको ९० सदस्यीय टोली परिचालन

 

काठमाडौं, २२ भदौ । रसुवा बाढीबाट क्षतिग्रस्त बनेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा खोज तथा उद्धार कार्य अझै चुनौतीपूर्ण बनेको छ। बाढीले आयोजनास्थलमा ठूलो मात्रामा लेदो, हिलो र दलदल थुपारेका कारण उद्धार उपकरण पुर्‍याउन र भग्नावशेष हटाउन कठिनाइ भइरहेको नेपाली सेनाले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले आयोजनास्थलमा खोज तथा उद्धारका लागि ९० जनाको टोली परिचालन गरिएको जानकारी दिए।

बाढीपछि आयोजनाको कार्यालय तथा आवास क्षेत्रमा मानिसहरू रहेको हुनसक्ने आशंकामा खोजी कार्यलाई तीव्र बनाइएको छ। तर, बाढीले बनाएको दलदलका कारण उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न र आवश्यक उपकरण सञ्चालन गर्न समस्या भइरहेको सेनाको भनाइ छ।

सहायक रथी थापाका अनुसार भदौ १० गते नै आयोजनास्थलको रेकी गरिएको थियो। हाल एउटा सानो एस्काभेटर आयोजनास्थलमा पुर्‍याइएको छ। ठूला उपकरण पुग्न नसकेका कतिपय स्थानमा उद्धारकर्मीहरूले साबेलको प्रयोग गरी हिलो र माटो हटाइरहेका छन्।

बाढीले आयोजनाको कार्यालयसमेत पुरेको हुँदा उक्त क्षेत्रमा पनि खोजी भइरहेको छ। सेनाका अनुसार हालसम्म आयोजनाको टनेलभित्र मानिस रहेको संकेत भेटिएको छैन। यद्यपि, कार्यालय र आसपासका क्षेत्रमा मानिसहरू रहेको हुनसक्ने आशंकामा खोज तथा उद्धार कार्य जारी राखिएको छ।

 

खबरपाटी
खबरपाटी