आफ्ना समर्थकलाई काठमाडौं लैजाने र ल्याउने बसको व्यवस्था गर्दै चितवन राइनोज

आफ्ना समर्थकलाई काठमाडौं लैजाने र ल्याउने बसको व्यवस्था गर्दै चितवन राइनोज

चितवन - क्रिकेट क्लब चितवन राइनोजले आफ्ना समर्थकलाई काठमाडौं लैजाने र ल्याउने बसको व्यवस्था गरेको छ। नेपाल प्रिमियम लिग (एनपीएल)को फ्रेन्चाइज टिम चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनका समर्थकलाई चितवनदेखि काठमाडौंसम्म निःशुल्क बस सेवाको व्यवस्था गरेको हो।

राइनोजको खेल हुने दिन बिहान खेल हुँदा ५ बजे र दिउँसो खेल हुँदा बिहान ९ बजे चितवनबाट बस छुट्ने चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले जानकारी दिए। खेल समाप्त भएपछि पुनः चितवन ल्याइने छ। यसका लागि ६ वटा बसको व्यवस्था गरिएको छ। खेलको अनलाइन टिकट हुने दर्शकलाई बसमा लैजाने व्यवस्था गरिएको हो।

बस चितवन मेडिकल कलेज (सीएमसी)को प्राङ्गणबाट छुट्ने छ भने समर्थकलाई त्रिवि मैदानसम्म लैजाने छ। चितवन राइनोजको पहिलो खेल आज ११ः४५ बजे कर्णाली याक्ससँग भइरहेको

छ। यसैगरी मङ्सिर ४ गते दिउँसो ४ बजे लुम्बिनी लायन्ससँग, मङ्सिर १० गते ४ बजे विराटनगर किङ्ससँग, मङ्सिर १२ गते ११ः४५ बजे काठमाडौं गोर्खाजसँग चितवन राइनोज खेल्दैछ। यसैगरी मङ्सिर १६ गते ११ः४५ बजे जनकपुर बोल्टस्सँग, मङ्सिर १८ गते ४ बजे सुदुरपश्चिम रोयल्ससँग र मङ्सिर २० गते ३ः३० बजे पोखरा एभेन्जरसँग चितवन राइनोज खेल्दैछ। यी खेलपछि अंक तालिकाका आधारमा अरु खेल तय हुनेछन्।

खेलको पूर्वसन्ध्यामा चितवन र आसपासका जिल्लामा चितवन राइनोजको समर्थनमा ठाउँठाउँमा झण्डा, तुल, ब्यानर, स्टिकर टाँसिएका छन्।

 

खबरपाटी
खबरपाटी