प्रधानमन्त्रीले आज सात राजनीतिक दलसँग निर्वाचन सम्बन्धमा छलफल गर्ने

प्रधानमन्त्रीले आज सात राजनीतिक दलसँग निर्वाचन सम्बन्धमा छलफल गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आज विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलसँग फागुन २१ गते तय गरिएको निर्वाचन सम्बन्धमा छलफल गर्नै भएकी छन्। 

फागुन २१ को निर्वाचन गराउने मुख्य कार्यभारसहित बनेको वर्तमान सरकारले राजनीतिक संवादको पहल गर्दै राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई औपचारिक छलफलका लागि आमन्त्रण गरेको हो। 

छलफल आज साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए। सरकारले निर्वाचनको वातावरण नबनाएको भन्दै दलहरू रूष्ट थिए। 

सरकारले दलहरूसँगको संवादहिनता तोड्दै छलफलमा बोलाएको हो।  सरकारले निर्वाचनको वातावरण निर्माणका लागि दलहरूलाई पत्राचार नै गरेपछि संसद् पुनर्स्थापनालाई बटमलाइन बनाएको दल नेकपा एमालेसमेत छलफलमा सहभागी हुने भएको छ। 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव गराउनेतर्फ अग्रसर नै नभएको आरोप लगाएका बेला दलहरूलाई सरकारले औपचारिक रूपमै संवादका लागि बोलाएको हो।

नेकपा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमाले छलफलबाट पछि नहट्ने र सहभागी हुने बताए। उपाध्यक्ष युवराज ज्ञवालीले अध्यक्षले खटाएको व्यक्ति छलफलमा सहभागी हुने र आफ्नो कुरा राख्ने बताए। 

एमालेका तर्फबाट महासचिव शंकर पोखरेलको नेतृत्वमा  छलफलमा सहभागी हुने जनाएको छ। सरकारले प्रत्येक दललाई दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन अनुरोध गर्दै पत्राचार गरेको छ। दलहरूले सरकारले पठाएको पत्र प्राप्त गरिसकेका छन्।

नेपाली कांग्रेसले त्यसलाई सरकारको कदमलाई स्वागतयोग्य भन्दै महामन्त्री गगन थापासहित छलफलमा जाने बताएको छ। महामन्त्री थापाले सरकारले बोलाएको छलफलमा कांग्रेस सहभागी हुने बताए। छलफलमा शान्ति सुरक्षाको विषयलाई महत्वका साथ उठाउने थापाको भनाइ छ।

सरकार चुनाव उन्मुख नरहेको बताइरहेको नेकपा माओवादी केन्द्र पनि चुनावमा जान तयार छ। दलहरू बेगर चुनाव हुन नसक्ने ठहरसहित सरकारले संवादको पहल गरेकोमा सकारात्मक प्रतिक्रिया दिएको छ। 

सरकारका गतिविधिमा आशंका रहे पनि छलफलमा सहभागी हुने नेता देव गुरूङले बताए। 

रास्वपाले सरकारले ढिलै भए पनि संवाद सुरू गरेको भन्दै पार्टी उपसभापति स्वर्णीम वाग्ले छलफलमा सहभागी हुने बताएको छ। 

खबरपाटी
खबरपाटी