काठमाण्डौ – आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ मा संयुक्त अरब इमिरेट्स (यूएई) सँगको खेलमा नेपालले टस जितेको छ ।
ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । आजको खेलमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेलेको टोलीलाई नै निरन्तरता दिएको छ ।
यस्तो छ नेपाली टोली–
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।
सुपर–६ मा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् । नेपाल र यूएई दुवै टोलीले सुपर–६ मा २ अङ्क जोडेका छन् ।
नेपालले समूह चरणको खेलमा जापानसँग खेलेका कारण सुपर–६ मा उसँग खेल्न पर्ने छैन । नेपालले सुपर–६ मा भोलि कतारसँग खेल्नेछ । यस्तै नेपालले बुधवार ओमान र शुक्रवार सामोआसँग खेल्नेछ ।
सुपर–६ मा शीर्ष ३ मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।