काठमाडौं - काठमाडौं जिल्ला प्रशासन कार्यालयले रातिको समयमा काठमाडौंमा यात्रा नगर्न आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले बिहीबार राति एक जरुरी सूचना जारी गर्दै मौसमी प्रतिकूलताका बावजुद अनावश्यक रूपमा यात्रा नगर्न पनि आग्रह गर्नुभएकाे हाे । काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्ने मानिसहरुले रातको समयमा यात्रा नगर्न जारी सूचनामा उल्लेख गरिएकाे हाे ।
विपदकाे समयमा तत्काल कुनै प्रकारको उद्धार, सहयोग र राहत आवश्यक परेको खण्डमा जिल्ला प्रहरी परिसर काठमाडौंको सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न समेत अनुराेध गरिएकाे छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा प्रेषित सूचना अनुसार शुक्रबारदेखि यहि असोज २० गतेसम्म काठमाडौंमा भारी वर्षा हुने सम्भावना छ । वर्षाबाट जोखिमयुक्त स्थानहरुमा बाढी, पहिरो, भू–क्षय जस्ता विपतजन्य घटनाहरू घट्न सक्ने सम्भावना रहेको भन्दै प्रशासन कार्यालयले रातको समयमा काठमाडौं आवात-जावत नगर्न आग्रह गरेकाे हाे ।
यहि असोज २० गतेसम्म आ-आफ्नो स्थानमा नै रही सतर्कता अपनाउन सबैमा प्रशासनले अनुराेध गरेकाे हाे । सकेसम्म साेही अवधिमा लामो दूरीको यात्रा नगर्न समेत जारी सूचनामा अनुरोध गरिएको छ ।