मौसमविदको चेतावनी: दसैंपछि भीषण वर्षाको सम्भावना छ

मौसमविदको चेतावनी: दसैंपछि भीषण वर्षाको सम्भावना छ

यसपालिको दसैंमा पर्याप्त पानी परिरहेको छ। अहिले पनि गण्डकी र लुम्बिनीका केही स्थानमा पानी परिरहेको छ। मंगलबार बिहान मनाङको तालगाउँ (पछिल्लो एक घन्टामा ५.६ मिलिमिटर), बाँकेको भगवानपुरमा (पछिल्लो एक घन्टामा ६ मिलिमिटर) वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा, बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

महाशाखाले बुधबार (नवमी) र बिहीबार (दशमी) को दिन पनि उल्लेख्य वर्षाको सम्भावना व्यक्त गरेको छ।

असोज १५ गते महानवमीका दिन कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

असोज १६ गते टीकाको दिन बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा साथै मधेस र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसमविद् विनोद पोखरेलले दसैंपछि, १ अक्टोबर अर्थात् नवमीको दिनदेखि ७ अक्टोबर अर्थात् असोज २१ गतेसम्म भीषण वर्षाको सम्भावना देखाएका छन्।

उनका अनुसार विभिन्न तीनवटा मोडलले देशको मध्यदेखि पूर्वी भेगसम्म भीषण वर्षाको सम्भावना औंल्याएको छ।

 

खबरपाटी
खबरपाटी