मुग्लिन–नारायणगढ सडकमा आज बिहान ५ बजेदेखि यातायात एकतर्फी सञ्चालन

मुग्लिन–नारायणगढ सडकमा आज बिहान ५ बजेदेखि यातायात एकतर्फी सञ्चालन

काठमाडौं -  मुग्लिन–नारायणगढ सडकमा आज बिहान ५ बजेदेखि यातायात एकतर्फी सञ्चालन भइरहेको छ्।

इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो।

पहिरोका कारण शुक्रबार साँझदेखि बन्द रहेको सडक हिजो दिउँसो अबेर मात्रै एकतर्फी सञ्चालनमा आएको थियो। हिजो साँझ ८ बजे पुनः पहिरो खसेपछि पहिरो रातिनै पन्छ्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिए।

सडकखण्डमा सवारीसाधनको धेरै चाप रहेका कारण आफ्नो लेन प्रयोग गरेर मात्र यात्रा गर्न प्रहरी निरीक्षक सिंहले अनुरोध गरेका थिए। दुई दिनदेखि सडकमा अलपत्र परेका यात्रु गन्तव्यमा जान थालेका छन्।

सडक डिभिजन कार्यालय भरतपुरका प्रबक्ता कृष्ण प्रसाद आचार्यका अनुसार राति थोरै खसेको पहिरो हटाएर आज बिहानबाट यातायात सुचारु गरिँदा लामो समय रोकिएका सवारी साधनको चापले जामको समस्या भएको छ।

यो सडकमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत हुने गर्दछन्। सडक दुईतर्फी सञ्चालन नहुञ्जेलसम्म यो सडक भएर यात्रा गर्नेहरूलाई वैकल्पिक बाटोको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ।

खबरपाटी
खबरपाटी