काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीको वातावरण बिग्रन नदिन सरकार, राजनीतिक दलहरू र सरोकारवाला सबैलाई गम्भीर हुन आग्रह गर्नुभएको छ।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट बहुराष्ट्रिय कम्पनी एनसेल, चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्स जस्ता ठूला निजी संरचनामा भएको क्षति अवलोकन गर्दै अध्यक्ष ढकालले यस्ता घटनाले देशको लगानी वातावरणमा दीर्घकालीन असर पार्ने चेतावनी दिनुभयो।
“नेपालमा लगानीको वातावरण बिग्रिने अवस्था आएको छ। यस्ता घटनाले आर्थिक विकासमा गम्भीर असर पार्छ,” अध्यक्ष ढकालले भन्नुभयो। उहाँले आन्दोलनमा भएको घुसपैठका कारण देशभरका निजी उद्योग, व्यवसाय र व्यक्तिगत सम्पत्तिमा क्षति पुगेको भन्दै त्यसले उत्पादन र रोजगारीमा प्रत्यक्ष असर पारेको बताउनुभयो।
उहाँले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशतभन्दा बढी रहेको र कुल रोजगारीमा ८६ प्रतिशतभन्दा बढी योगदान दिने भएकाले लगानीकर्ताको सुरक्षाको प्रत्याभूति गरिनु पर्ने आवश्यकता औँल्याउनुभयो।
अध्यक्ष ढकालसँगै महासंघका उपाध्यक्षहरू हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य तथा केन्द्रीय सदस्यहरू सैलेन्द्र गुरागाईं, डा. राशरण थपलिया, पशुपतिदेव पाण्डे र कमला श्रेष्ठ लगायतले क्षतिग्रस्त क्षेत्रहरूको निरीक्षण गरी क्षतिको विवरण संकलन गर्नुभएको थियो।
महासंघले यसअघि अर्थमन्त्री तथा गृहमन्त्रीसँग भेट गरी आन्दोलनका क्रममा निजी सम्पत्तिमा भएको क्षतिको अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न, निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्न र लगानीमैत्री वातावरण कायम गर्न सरकारसँग आग्रह गरिसकेको जनाएको छ।
महासंघले निजी क्षेत्रको संरक्षण, शान्ति र सुरक्षाको प्रत्याभूति तथा दीर्घकालीन लगानी वातावरण सुनिश्चित गर्न सबै सरोकारवालालाई सक्रिय भूमिका खेल्न अपील गर्दै आएको छ।