काठमाडौँ । गत मंगलबारदेखि उपत्यकामा लागेको कर्फ्यू र निषेधाज्ञा शनिबारबाट हटेको छ । शुक्रबार राति नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै निषेधाज्ञा र कर्फ्यू हटेको हो ।
नेपाली सेनाले शुक्रबार साँझसम्म पनि सडकमै रहेर सुरक्षा दिएकामा शनिवार बिहानदेखि भने बाटोमा पनि सेना देखिएका छैनन् । नेपाली सेनाले निषेधाज्ञा नरहेकोबारे कुनै सूचना सार्वजनिक गरेको छैन । किनभने निषेधाज्ञा नरहेको अवस्थामा सेना परिचालन पनि नहुने भएकाले त्यस्ता सूचना नराखिएको हो ।
उपत्यकाको निषेधाज्ञा हटेसँगै जनजीवन सामान्य बन्ने अपेक्षा गरिएको छ ।तर नेपाली सेनाले आफू स्ट्याण्डबाई रहेको जनाएको छ ।
सेनाका एक उच्च अधिकारीका अनुसार नयाँ सरकार बनेसँगै निषेधाज्ञा र कर्फ्यू हटाइएको छ । तर हुनसक्ने आन्दोलन वा प्रदर्शनका सम्बन्धमा चनाखो भई नेपाली सेना स्ट्याण्डबाई रहेको छ ।
भदौ २३ गतेदेखि लगाइएको निषेधाज्ञा र कर्फ्यु ललितपुरमा आज पनि जारी छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्यु आइतबारसम्म जारी रहने जानकारी दिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम जारी आदेशअनुसार शनिबार बिहान ११ः०० बजे देखि बेलुकी ५ः०० बजेसम्म निषेधाज्ञा लागू हुने प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै, सोही दिन बेलुकी ७ः०० बजे देखि भाद्र २९ गते बिहान ६ः०० बजे सम्म कर्फ्यु लाग्ने पनि जानकारी गराइएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार अत्यावश्यक कार्यका लागि बिहान ६ः०० बजे देखि ११ः०० बजे र बेलुका ५ः०० बजे देखि ७ः०० बजे सम्म आवतजावत गर्न अनुमति दिइएको छ ।
एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, परिचयपत्र सहितका सञ्चारकर्मी, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधी ओसारपसार गर्न सकिने छ ।
सरकारी कार्यालय, बैङ्क र वित्तीय संस्थाका कर्मचारीहरू परिचयपत्र देखाएर आफ्नो कार्यालयसम्म जान पाउनेछन् भने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुले आफ्नो टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन् ।