काठमाडौं - जेन-जीले संसद विघटन हुनैपर्ने अडान दोहोर्याएको छ। साथै उसले निर्णय प्रक्रियामा आफूहरूको सहभागिता सुनिश्चित गरिनुपर्ने बताएको छ।
जेन-जीहरूको प्रतिनिधि मञ्च ‘हामी नेपाल’ले सामाजिक सञ्जालमार्फत यी दुई सर्तमा आफूहरू दायाँबायाँ नहुने स्पष्ट पारेको हो। उसले भनेको छ, ‘हाम्रो अबको प्रमुख एजेन्डा संसदको विघटन र निर्णय प्रक्रियामा जेन-जीको सहभागिता सुनिश्चितता हो।’
जेन-जीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सारेको छ। उनले पनि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संसद विघटन र आन्दोलनमा भएको दमनको छानबिनलाई मुख्य सर्त बनाएकी छन्।
कार्कीले जेन-जीको माग, मर्म र भावना अनुसारको मार्गचित्रमा काम गर्न नपाउने हो भने आफू प्रधानमन्त्री नबन्ने अडानसमेत राखेको बताइएको छ।
तर राष्ट्रपति रामचन्द्र पौडेल र अहिले संसदमा भएका अधिकांश दलहरू भने यसको विपक्षमा छन्। आजै मात्र सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले संयुक्त विज्ञप्ति जारी गरी राष्ट्रपतिले लिएको अडानमा समर्थन जनाएका छन्।