काठमाडौ- पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार राति ९ बजे सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।
बिहीबार र शुक्रबार दिनभरी भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो। पूर्वप्रधानन्यायाधीश कार्कीसहितको टोली शुक्रबार साँझ नयाँ सरकार गठनका लागि छलफल गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेको थियो ।
पूर्वप्रधानन्यायाधीश कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल पनि छलफलका लागि राष्ट्रपति निवासमा पुगेको स्रोतले जनाएको हो । पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तिम सरकारको प्रमुखमा चयन गर्ने विषयमा सहमति जुटे पनि संसद विघटनका विषयमा सहमति जुट्न सकेको थिएन ।
दुवै पक्ष आ-आफ्नो अडान यथावत रहेका कारण ढिलाई भएको थियो । संसद विघटनका विषयमा सहमति जुटाउनका लागि पूर्वप्रधानन्यायाधीश कार्कीसहितको टोली राष्ट्रपति निवासमा गएको थियो । तर अब संसद विघटन गर्नका लागि सहमति जुटेको छ ।