अरनिको राजमार्गको अवरोध हट्दै, भोलि साँझसम्म सञ्चालनमा आउने

अरनिको राजमार्गको अवरोध हट्दै, भोलि साँझसम्म सञ्चालनमा आउने

काठमाडाैं ।लगातारको वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि अवरुद्ध बनेको अरनिको राजमार्ग खुलाउन सडक विभागले काम शुरू गरेको छ ।

सडक विभागको चरिकोट डिभिजनका प्राविधिक टोलीले अवरोध हटाउने कार्य गरेको हो ।


सडक विभागका अनुसार, कोदारी क्षेत्रलगायत राजमार्गको विभिन्न ठाउँमा खसेको पहिरोले सडकलाई क्षतिग्रस्त बनाएको छ ।

प्रभावित क्षेत्रमा सडक डिभिजन चरिकोटको टोली पुगेर पहिरो हटाउने र यातायात सहज बनाउन कार्य अगाडि बढाइरहेको विभागले जनाएको छ ।


विशेषगरी घट्टेखोला क्षेत्रमा खसेको पहिरो सफा गर्ने काम तीव्र गतिमा शुरू गरिएको विभागले जनाएको छ । सडक विभागका अधिकारीहरूका अनुसार, आवश्यक मशिन र जनशक्ति परिचालन गरेर अवरोध हटाउने प्रयास भइरहेको छ ।

प्रारम्भिक अनुमानअनुसार, मंगलबार (भोलि) साँझसम्म सडक सञ्चालनमा आउने छ ।

यात्रु तथा स्थानीय पहिरोका कारण सडक अवरुद्ध भएपछि लामो समयदेखि अलपत्र परेका छन् । सडक अवरुद्ध हुँदा सामान ढुवानी, आपतकालीन सेवामा समेत कठिनाइ देखिएको छ ।

सडक विभागले निरन्तर काम भइरहेको र अवरोध हटाउने प्रगतिबारे विभागीय सूचनामार्फत जानकारी अद्यावधिक गरिने जनाएको छ। विभागले यात्रुलाई अनावश्यक जोखिम मोलेर प्रभावित क्षेत्रमा नजाने आग्रह समेत गरेको छ ।

अरनिको राजमार्ग नेपाल–चीन व्यापारका लागि महत्त्वपूर्ण मार्ग हो ।

बारम्बार पहिरोका कारण प्रभावित हुँदै आएको यस मार्गको अवरुद्धले व्यापार, यातायात र स्थानीय जनजीवनमा ठूलो असर पार्ने गरेको छ । यसपटक पनि विभागले समयमै पहल थालेकाले राजमार्ग चाँडै सुचारु हुने अपेक्षा गरिएको छ।

खबरपाटी
खबरपाटी