काठमाण्डौ-हेटौँडा–ललितपुर जोड्ने कान्ति लोकपथ सडक पहिरोका कारण अवरुद्ध भएको छ । शुक्रबार दिउँसो परेको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ सडक अवरुद्ध भएको हो ।
वर्षासँगै गएको पहिरो खस्दा मकवानपुरको भिमफेदी गाउँपालिका–८ स्थित भर्याङडाँडामा पर्ने कान्ति लोकपथ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी निरीक्षक विद्यासागर मेहताको कमान्डमा खटिएको प्रहरी टोलीले सडक विभागसँग समन्वय गर्दै बाटो खुलाउने प्रयास गरिरहेको छ।
लगातार पानी परिरहेकोले तत्काल बाटो खुलाउन कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
पहिरोका कारण सवारी साधनहरू दुबैतर्फ रोकिएको उनले बताए । सडक सुचारु गरिने प्रयास जारी रहेको र मौसममा सुधार आए लगत्तै पहिरो पन्छाउने काम अघि बढाउने उनले बताए ।