काठमाडौं । महालेखा परीक्षक तोयम रायाले विश्व विद्यालयहरुले ८/१० वर्षदेखि लेखापरीक्षण नगरेको बताएका छन्।
शुक्रबार सार्वजनिक लेखा समितिको बैठकमा महालेखा परीक्षक रायाले आगामी दिनमा विश्व विद्यालयसहित सबै इकाइहरुको अडिटलाई प्राथमिकतामा राख्ने बताए।
लामो समयदेखि रहेको त्यस्तो अवस्थालाई हटाउँदै दुई, चारवटा बाहेक अहिले प्रायःको लेखा परीक्षण गरिएको बताए।
उनका अनुसार संघीय निकायहरुको बेरुजु बढ्नेक्रम जारी छ। यसलाई घटाउन प्रभावकारी कार्ययोजना बनाएर लाग्नुपर्ने आवश्यकता छ। रायाले १० वटा मन्त्रालयको ९१ प्रतिशत बेरुजु देखिनु राम्रो नभएको बताउँदै बेरुजुलाई शून्यमा झर्ने गरी कामकारबही अघि बढाउनुपर्नेमा जोड दिए।
रायाले भने, ‘केही समय अघिसम्म १ सय बढि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न इकाइहरुको अडिट हुन सकेको रहेनछ। गत असार मसान्तभित्रै अहिले अडिट अहिले सकिएको छ। आगामी दिनमा सबै निकाय, इकाइहरुको लेखा परीक्षण गरिनेछ।’
महालेखा परीक्षक रायाले हरेक वर्षका महालेखाका प्रतिवेदनहरु लेखासमितिमा छलफल हुनुपर्ने बताए। उनकाअनुसार एउटा वर्षको प्रतिवेदनमा छलफल गर्दा त्यही प्रकृतिको अरुअरु वर्षको प्रतिवेदनमा पनि केके थियो भन्ने छुटिरहेको छ।
त्यसैले ती विषयमा गहन रुपमा छलफल गर्नुपर्ने उनले बताए। रायाले वार्षिक प्रतिवेदन बनाउँदै गर्दा सचिवहरुसँग राय सुझाव मागिने गरिएको भएपनि त्यसको रेस्पोन्स नआउने गरेको गुनासो गरे।
समिति बैठकमा रायाले मन्त्रालयहरुमा सरुवा भएर सचिवहरू जाँदा बेरुजुका बारेमा चासो देखाउनुपर्छ। सचिवहरूले डेटा मागेर बेरुजु फर्छ्यौटमा गम्भीतापूर्वक लाग्नुपर्ने रायाको भनाइ रहेको छ।