प्रहरी कारबाहीमा ज्यान गएपछि सप्तरीमा प्रदर्शन

प्रहरी कारबाहीमा ज्यान गएपछि सप्तरीमा प्रदर्शन

कल्याणपुर। मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको विरोधमा स्थानीयहरु प्रदर्शनमा उत्रिएका छन् ।

राजगढ गाउँपालिका– २ कमलपुरका ३६ वर्षीय लालु यादवको मङ्गलबार राति प्रहरीको गोलीबाट मृत्यु भएपछि उनका आफन्त र स्थानीय जिल्ला प्रहरी कार्यालय सप्तरीको गेटमा टायर बालेर प्रदर्शनमा उत्रिएका हुन् ।

भारतीय सीमा नजिक रहेको उक्त गाउँपालिकामा ठुलो मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाका अधारमा ‘सर्च अप्रेसन’ चलाउँदा स्थानीय र प्रहरीबिच झडप भएको थियो । प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

सोही क्रममा तिघ्रामा गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता मृतक यादवलाई प्रहरीले बोलाएर नियन्त्रणमा लिई गोली हानेर खेतमा फालेको राजगढ १ का दिपेन्द्र यादवले आरोप लगाउनुभयो ।

“प्रहरीले पहिला मृतक लालुलाई बोलायो अनि घर सर्च गर्नेबेला सामान्य विवाद हुँदा प्रहरीले नियन्त्रणमा लिएर गोली हानेको छ, दोहरो झडप भएको छैन,’’ यादवको आरोप छ ।

यस्तै, प्रदर्शनमा सहभागी मृतकका ज्वाइँ ई संजीवनारायण यादवले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका मृतक यादव लाईसेन्स लिएर व्यापार गर्दै आएकोमा निहत्थालाई नियन्त्रणमा लिएर प्रहरीले गोली हानेको आरोप लगाए ।

भारतको सीमा नजिक पर्ने राजगढ गाउँपालिका–२ स्थितबाट प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

खबरपाटी
खबरपाटी