गोलन्जोरबाट हराएका १६ जनालाई खोज्न रामेछापमा पनि प्रहरी परिचालन

गोलन्जोरबाट हराएका १६ जनालाई खोज्न रामेछापमा पनि प्रहरी परिचालन

काठमाडौं- सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर–६ बाट हराएका १६ जनाको परिवार खोज्न रामेछापमा पनि प्रहरी परिचालन गरिएको छ । शुक्रवारदेखि स्थानीय हायु परिवारका १६ जना सम्पर्कविहीन भएका हुन् ।


रामेछापतर्फ गएको आशङ्कामा रामेछाप नगरपालिकास्थित हायु बस्तीमा प्रहरी परिचालन गरिएको रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए । उनले भने– ‘रामेछाप तर्फ आएको हुनसक्ने आशङ्कामा खोजी कार्य भइरहेको छ ।’

बिहीबार अर्थात साउन ८ गते स्थानीय निकायले लोपोन्मुख हायु समुदायले पाउने भत्ता बापतको रकम वितरण गरेको थियो । उर्मिला हायु र उनका ६ छोरा, ६ छोरीसहित १६ जनाले ४ हजारको दरले ३ महिनाको भत्ता रकम बुझेका थिए । भत्ता बुझेपछि उनीहरूले घरमै सुँगुरको मासु खाएको सिन्धुलीका एसपीले बताएका छन् ।


गोलन्जोर क्षेत्रमा विपद्को घटना पनि नभएको र उनीहरू समूहमा नै हिँडेको आकलन गरिएको छ । सम्पर्कविहीन हुनेहरूको मोबाइलको लोकेसन रामेछापको टावरमा देखिएको छ । तर, गोलन्जोर भन्दा पारिपट्टि पर्ने सो टावरले गोलन्जोरमा पनि फोन सम्पर्क हुने खोजमा संलग्न अधिकृतहरू बताउँछन् ।

खबरपाटी
खबरपाटी