काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी राजनीतिमा कसरी सक्रिय हुने भन्नेबारेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी छलफल गर्न आएको बताएका छन् । भण्डारीले प्रधानमन्त्रीसँग छलफलमा जुटेपछि आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै पोखरेलले कुनै विवाद नभएको समेत दाबी गरे ।
‘भण्डारी आगामी दिनमा कसरी आउने भनेर सल्लाह गर्न आउनुभएको हो । उहाँको पार्टी सदस्यता, आउने विषयमा छलफल गर्ने भनेर निर्णय गरेका थियौं । त्यही विषयमा छलफल भएको हो,’ पोखरेलले भने, ‘महासचिवले नै आधिकारिक रूपमा सदस्यता नवीकरण भइसकेको बताउनुभएको छ । अध्यक्षले केही भन्नुभएको छैन । एक वर्ष गोप्य, राखिएको पनि होइन । असमझदारी छैन । आउँदा कुन किसिमले आउने भनेर छलफल भएको हो ।’
भण्डारीको विषयमा पार्टीमा संघर्ष गर्नुपर्ने स्थिति नभएको पोखरेल बताउँछन् ।
तर एमालेको पोलिटब्युरो बैठकले शनिबार मात्रै पूर्वराष्ट्रपति भण्डारीको सदस्यता पेन्डिङमा रहेको घोषणा गरेको थियो । प्रचार विभाग प्रमुख एवं प्रवक्ता राजेन्द्र गौतमले भण्डारीको सदस्यता होल्डमा रहेको दाबी गरेका थिए ।
यस्तो निर्णयको भोलिपल्टै ओलीले भण्डारीलाई संवादका लागि च्यासल बोलाएका हुन् ।
ओली र भण्डारबीच एक घण्टादेखि च्यासलमा छलफल जारी छ ।