अमेरिकाभित्र अवैध रूपमा रहेका आप्रवासीलाई ‘हेड स्टार्ट’ प्रिस्कुल कार्यक्रममा सहभागी हुन रोक

अमेरिकाभित्र अवैध रूपमा रहेका आप्रवासीलाई ‘हेड स्टार्ट’ प्रिस्कुल कार्यक्रममा सहभागी हुन रोक

काठमाण्डौ – ट्रम्प प्रशासनले अमेरिकाभित्र अवैध रूपमा रहेका आप्रवासीलाई ‘हेड स्टार्ट’ भनिने प्रिस्कुल कार्यक्रममा सहभागी हुन रोक लगाउने निर्णय गरेको छ। स्वास्थ्य तथा मानव सेवा विभाग (एचएसएस)ले यस्तो घोषणा गरेको हो। 

यो कदम अवैध आप्रवासीलाई संघीय सुविधा प्राप्त गर्न नदिने सरकारको व्यापक प्रयासको हिस्सा हो। यसअघि उनीहरूलाई खाद्य टिकट, छात्र ऋण तथा उच्च शिक्षाका लागि आर्थिक सहायता जस्ता संघीय सेवाबाट वञ्चित गरिँदै आएको भए पनि, हेड स्टार्ट र स्वास्थ्य लगायतका समुदायस्तरका केही कार्यक्रममा पहुँच दिइँदै आएको थियो। तर अब एचएसएसले यस्ता कार्यक्रमलाई संघीय सार्वजनिक लाभको रूपमा पुनः वर्गीकृत गर्ने बताएको छ। 

स्वास्थ्य सचिव रोबर्ट एफ केनेडी जुनियरले यो कदमले अमेरिकी करदाताको पैसा गलत रूपमा प्रयोग हुन नदिन र संघीय सामाजिक सेवामा विश्वसनीयता पुनःस्थापित गर्ने दाबी गरेका छन्। तर राष्ट्रिय हेड स्टार्ट संघकी कार्यकारी निर्देशक यास्मिना भिन्सीले भने यसले आप्रवासी समुदायमा डर र अन्योल पैदा गर्ने चेतावनी दिएका छन्। शिक्षा, कृषि र श्रम विभागले समेत अवैध आप्रवासीहरूमाथि सेवा रोक लगाउने नयाँ नीति सार्वजनिक गरेका छन्।

खबरपाटी
खबरपाटी