वासिंगटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज साउदी अरबको भ्रमणमा जाने भएका छन् । दोस्रो पटक राष्ट्रपति बनेपछि ट्रम्पको यो पहिलो औपचारिक विदेश भ्रमण हो । यसअघि उनी पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुन अप्रिल २६ मा भ्याटिकन सिटी पुगेका थिए ।
ट्रम्पले मंगलबार (मे १३) मा साउदीको राजधानी रियादमा युवराज मोहम्मद बिन सलमान (एमबीएस) सँग भेट गर्नेछन् । त्यसपछि उनी मे १४ मा खाडी नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन कतार जानेछन् । ट्रम्प आफ्नो भ्रमणको अन्तिम दिन मे १५ मा युएई पुग्नेछन् ।
खासमा अमेरिकाको राष्ट्रपति बनेपछि क्यानडा, मेक्सिको वा कुनै पनि युरोपेली देश घुम्ने पुरानो चलन रहेको छ । तर, सन् २०१७ मा राष्ट्रपति बनेपछि ट्रम्पले सबैभन्दा पहिले साउदी अरेबिया पुगेर यो परम्परा तोडेका थिए ।
दोस्रो पटक राष्ट्रपतिको रूपमा सपथ लिएपछि ट्रम्पले पहिलो विदेशी व्यक्ति साउदी राजकुमार एमबीएसलाई अमेरिका बोलाएका थिए । दुई नेताले मध्यपूर्वमा स्थायित्व ल्याउने, क्षेत्रीय सुरक्षा सुदृढ गर्ने र आतंकवादविरुद्ध लड्ने प्रयासबारे छलफल गरेका थिए ।