गाजामा इजरायलको भीषण आक्रमण, २०० भन्दा बढीको मृत्यु

गाजामा इजरायलको भीषण आक्रमण, २०० भन्दा बढीको मृत्यु

काठमाडौं । इजरायली सेनाले गाजा पट्टीमा भीषण आक्रमण गरेको जनाएको छ । हमासलाई लक्षित गर्दै उक्त आक्रमण गरिएको इजरायलले जनाएको छ ।

इजरायलको प्रधानमन्त्री कार्यालयले एक प्रतिक्रिया दिँदै भनेको छ( प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा रक्षामन्त्री इजराइल काट्जले मंगलबार बिहान गाजा पट्टीमा आक्रमण गर्ने आदेश दिएका थिए । हमासले इजरायली बन्धकहरू रिहा गर्न इन्कार गरेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि विट कोफ र अन्य मध्यस्तकर्ताले गरेको प्रस्ताव अस्वीकार गरेपछि गरिएको इजरायलले जनाएको छ ।

अलजजिराले प्रकाशित गरेको समाचारमा उक्त आक्रमणमा परी २३२ जनाको मृत्यु भएको जनाइएको छ । उक्त समाचारमा भनिएको छ( प्यालिस्टिनी स्वास्थ्य मन्त्रालयले गाजामा कम्तिमा २३२ मानिसहरूको मृत्यु भएको छ ।

इजरायल र हमासबीच युद्धविराम भययताको गाजामा इजरायलले गरेको यो सबैभन्दा ठूलो आक्रमण हो । युद्धविराम अघि बढाउने विषयमा दुई पक्षबीचको वार्तामा रुकावट आएको समयमा इजरायलले आक्रमण गरेको हो ।

इजरायली आर्मीले गाजामा हमास बसेको ठाउँमा आक्रमण गरिएको जनाएको छ । इजरायली सेनाले एक टेलिग्राम पोस्टमा भनेको छ( गाजापट्टीमा हमास बसेको ठाउँमा ठूलो संख्यामा आक्रमण गरिएको छ ।

स्थानीय चिकित्सकहरूले भने उक्त आक्रमणमा परी सर्वसाधारण, महिला तथा बालबालिक पनि आक्रमणको निशानामा परेको बताएका समाचारहरूमा जनाइएको छ । चिकित्सक तथा प्रत्यक्षदर्शीका अनुसार मध्य गाजाको दिर अल बलाहमा तीन घर, गाजा शहरको एक भवन तथा खान युनिशि तथा राफामा आक्रमण भएको हो ।

आक्रमणपछि हमासले भने इजरायलले युद्धविरामको उल्लंघन गरेको आरोप लगाएको छ । साथै यसले बन्धकहरुको जीवन खतरामा पार्ने चेतावनि दिएको छ ।

खबरपाटी
खबरपाटी