देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव

देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव

काठमाडौँ- स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले जानकारी दिए। 
    
उनले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको बताए। उनले भने,  'हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ । ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो । ढलबाट मिसिएको हुनसक्छ । शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्छ । हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी छ।

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले भने, 'हैजाका जीवाणु सङ्क्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ । सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ।'

खबरपाटी
खबरपाटी