विमान दुर्घटनाबारे गहन अनुसन्धान हुन्छ : स्वास्थ्यमन्त्री पौडेल

विमान दुर्घटनाबारे गहन अनुसन्धान हुन्छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडाैँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताएका छन्।

बिहीवार बिहान त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न पुगेका मन्त्री पौडेलले यस्तो प्रतिवद्धता जनाएका हुन्।

अहिले मृतकहरूको फिंगर प्रिन्ट्स, दाँतबाट र शरीरका विभिन्न संकेतबाट पहिचान गर्ने काम भइरहेको तथा बुधवार नै ४ वटा शवको पहिचान भइसकेको उनले जानकारी दिए।  

उनले भने, ‘फिंगर प्रिन्ट्स, दाँतबाट र शरीरका विभिन्न संकेतबाट पहिचान हुन नसके डिएनए गर्नुपर्ने र डिएनए गर्नुपरेको खण्डमा समय लाग्ने रहेछ। डिएनएको समय तीन, चार दिन लाग्न सक्ने कुरा आएको छ। यी तीन कुराबाट पहिचान भएको शवलाई भोलि बेलुकासम्म रिलिज गर्न सकिन्छ । छिटो भन्दा छिटो शव पहिचान गर्नेगरी काम भइरहेको छ। हिजो ४ वटा भएको छ । त्यसलाई म्याचिङ गर्न बाँकी छ । अहिले तीन वटाको काम भइरहेको छ । बेलुकासम्म शव पहिचान हुन्छ । पहिचान हुन सकेको शवहरु भोलिसम्म आफन्तलाई जिम्मा लगाइने भनिएको छ।’

उनले नेपालको हवाई क्षेत्र धेरै सुरक्षित हुन नसकेकोले बर्सेनि ठूलो संख्यामा क्षति व्यहोर्नु परिरहेको बताए।  

नेपाललाई पर्यटकीय गन्तव्य बनाइरहने कुरा गर्दा यस प्रकारका असुरक्षाले क्षति पुग्ने गरेकाे र सरकारले भएका कमजोरी र लापरवाही पत्ता लगाएर कारबाही, सुधार र नियमन गर्ने उनले बताए। 

उनले पुराना र कण्डिसन बिग्रिएका जहज प्रयोग गर्न र मापदण्ड पूरा नभएका विमान उडान गर्न रोक लगाउँदै विमानस्थल भित्र जहाज उडानका लागि मैत्रीपूर्ण वातावरण बनाउनुपर्ने बताए। 

उनले भने, ‘ हवाई यात्रालाई सुरक्षित बनाउनका निम्ति एयरलाइन्सहरुमा भएका कमजोरी, पुराना जहाज प्रयोग गर्ने कण्डिसन बिग्रिएका जहज प्रयोग गर्ने, मापदण्ड पूरा नभएका विमान उडान गर्न दिने, विमानस्थल भित्र जहाज उडानका लागि मैत्रीपूर्ण वातावरण गराउने काम गर्न जरुरी छ। प्राविधिक क्षेत्रमा टेक्निकल इरर हुनु हुँदैन । स्पष्ट मापदण्ड हुनुपर्छ। मापदण्ड पूरा भएको जहाजलाई लापरवाही गरेर उडान गर्न दिनु हुँदैन। नियमित अनुगमन गर्नुपर्छ। छानबिन समिति गठन गर्न आयोग गठन गरिएको छ।’ 

उनले सरकारले ४५ दिनको समय दिएर छानबिन गर्न आयोग गठन गरेको र आयोगले विस्तृतमा समस्या र दुर्घटनाको कारण पत्ता लगाउने गरी काम गर्ने पनि बताए।

विमानको ब्ल्याक बक्स सुरक्षित रहेकाले वास्तविकताक छिटै पत्ता लाग्ने र दुर्घटनाको कारण गहिराइमा नै गएर खोजिनुपर्ने बताए।

बुधवार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो । १९ जना यात्रु सवार विमानका पाइलट शाक्य भने उपचाररत छन्।

खबरपाटी
खबरपाटी