प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्को जोखिमबाट बच्न राम्रो पूर्वतयारी आवश्यक रहेको बताएका थिए ।
बुधवार दिउँसो ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन तथा पुनर्निर्माणसम्बन्धी वृहत् अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका छन् ।
‘नेपाल भूकम्पको जोखिमका दृष्टिले उच्च जोखिममा रहेको र नेपालका पश्चिमी क्षेत्रमा ठूला भूकम्पहरू आउन सक्ने सम्भावनाबारे कतिपय विज्ञहरूले भन्दै आएका छन् । वर्ष दिनभित्रै जाजरकोट, बझाङ्ग र डोटीमा गएका भूकम्पले यसको पूर्वसंकेत गरेको छ’, उनले भने ।
‘असोज १६ गतेपछि एक महिनाको अन्तरालमा बझाङ र जाजरकोट भूकम्पको लगत्तै म दुवै स्थानमा पुगेँ। त्यहाँको अवस्था देख्दा लाग्यो– मध्यम खालको भूकम्प आउँदा त यस्तो अवस्था छ भने हालैको जापानमा गएको जत्रो ७।६ म्याग्निच्यूडको भूकम्प वा २०७२ सालको जत्रो भूकम्प गएको भए त्यसले सिर्जना गर्ने त्रासदी हामीले झेल्न सक्थ्यौं होला र ?’, उनले थपे ।
प्रधानमन्त्रीले विपद्को पूर्व जोखिम आकलन गरी त्यसको तयारीमा जुट्नुपर्नेमा जोड दिए। उनले भने, ‘विपद् पूर्व जोखिमको आकलन गरी सोहीअनुरूपको संरचना र तयारीका काममा उदासीनता रहने गरेको छ।
त्यसैले यसपटक श्रृङ्खलाबद्ध रूपमा आएका भूकम्पहरूले हामीलाई जोखिम प्रतिरोधी संरचना र सोहीअनुरूपको निरन्तर तयारीका लागि घच्घच्याएको उनले बताए ।