दुई साता ढिलो गरी मनसुन बाहिरियो, पश्चिमी न्यूनचापीय प्रणाली भित्रिँदै

दुई साता ढिलो गरी मनसुन बाहिरियो, पश्चिमी न्यूनचापीय प्रणाली भित्रिँदै

यस वर्षको मनुसन दुई साता ढिलो गरी बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर मितिभन्दा १३ दिन ढिलो गरी आइतबार बाहिरिएको हो। 

सामान्यतया मनसुन २ अक्टोबरमा बाहिरिनुपर्नेमा १५ अक्टोबरमा मात्रै बाहिरिएको छ। जेठ ३१ मा भित्रिएको मनसुन एक सय २४ दिन नेपालमा रहेको छ।  सुदूरपश्चिम, कर्णालीसहितका प्रदेशमा गत साता मनसुन बाहिरिएको थियो।
  
यस वर्ष मनसुन अवधिमा एक हजार तीन सय तीन मिलिमिटर अर्थात् औसत वर्षाको ८८.५ प्रतिशत मात्र पानी परेको छ। 

मनसुन बाहिरिएसँगै आज रातिबाट पश्चिमी न्यूनचापीय प्रणाली प्रवेश गर्दै छ। महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण सोमबारदेखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

उच्च पहाडी भेगमा हल्का हिमपातको आकलन गरिएको छ। ‘पश्चिम नेपालमा बादल लाग्न सुरु भइसकेको छ, असरको स्वरूप भोलि त्यस क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ,’ मौसमविद् विनु महर्जनले भनिन्, ‘ठूलो वर्षाको सम्भावना नरहे पनि हल्का तथा मध्यम वर्षाले पनि असर गर्ने भएकाले दुई दिन धान नकाट्दा राम्रो हुन्छ।’

पश्चिमी वायुको असरको स्वरूप सोमबार गण्डकी र बाँकी प्रदेशका केही क्षेत्रमा बादल लाग्ने सम्भावना छ।

खबरपाटी
खबरपाटी