काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सात जनाविरूद्ध थप अनुसन्धान अगाडि बढाएको छ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणको अनुसन्धानका लागि सिआइबीले अपरेसन ‘फक्सट्रट चार्ली’ चलाएको थियो। उक्त अपरेसनबाट पक्राउ परेका ७ जनालाई सिआइबीले शुक्रबार सार्वजनिक गरेको छ।
पक्राउ पर्नेहरूमा विराटनगरमा अनु फार्मेसी चलाउने ३४ वर्षीय मनित चौधरी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत अमित चौधरी, एमडी अध्ययनको तयारी गरिरहेकी काठमाडौंकी एरिना शाह, इसान बाल तथा महिला अस्पताल बसुन्धरामा कार्यरत ३३ वर्षीय श्रद्धा शिल्पकार रहेका छन्।
त्यस्तै काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका(९ बाट २८ वर्षीय पुनम थापा, बागमती सेन्ट्रल अस्पताल रौतहटमा कार्यरत ३२ वर्षीय रामबाबु यादव र चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत २८ वर्षीय नसिम अख्तर सिआइबीको हिरासतमा छन्।
नसिम साउन ३२ गते पक्राउ परेका थिए। उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई अनुसन्धान अगाडि बढिरहेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
बाँकी ६ जनालाई सिआइबीको हिरासतमा राखेर अनुसन्धान भइरहेको पनि उनले बताए।
अपरेसन फक्सट्रट चार्ली अन्तर्गत नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर एमबिबिएस गर्नेमाथि सिआइबीले अनुसन्धान गरेको हो।
सिआइबीले राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयलाई पत्राचार गरी वास्तविकता बुझेर यकिन भएपछि उनीहरूलाई पक्राउ गरेको हो।
यो फक्सट्रट अपरेशनमा सिआइबीले ८ जनालाई पक्राउ गरेको छ। तीमध्ये नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएपछि छुटेका थिए।
यही प्रकरणमा सिआइबीले एक जना सक्कली डाक्टरलाई पनि पक्राउ गरेको थियो। डा. रंजितकुमार यादवलाई सिआइबीले पक्राउ गरेको थियो। तर उनका कागजातहरू सक्कली नै पाइएपछि ब्युरोले उनलाई छाडेको थियो।