नुवाकोट - भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारका लागि कोरिया फुड फर द हंग्री इन्टरनेसनल (के एफ एच आइ) र बाल विकास कार्यक्रम नेपाल (सिडिपिएन) ले राहत सामग्री हस्तान्तरण गरेका छन्।
के केएफएचआइको सहयोग तथा सिडिपिएनको समन्वयमा बाढीपीडितलाई आवश्यक दैनिक उपभोग्य तथा व्यक्तिगत प्रयोगका सामग्री हस्तान्तरण गरिएको हो। राहत सामग्रीमा कम्बल, म्याट्रेस, टावल, मच्छरदानी, बत्ती, टी–सर्ट चार थान, ट्र्याक एक थान, नुहाउने साबुन दुई थान, लुगा धुने साबुन दुई थान, पेस्ट एक थान, ब्रस दुई थान र सामान राख्ने झोला एक थान रहेका छन्।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा केएफएचआइ नेपालका प्रमुख पार्क सर, सिडिपिएनका बालकृष्ण भट्टराई तथा साथी कम्प्युटरका रणजीत पोद्दार लगायतको सहभागिता रहेको थियो।
केएफएचआइले बाढी तथा विपतबाट प्रभावित परिवारलाई आपत्कालीन अवस्थामा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले राहत सामग्री सहयोग गरेको हो।
राहत सामग्री बिदुर गोर्खुटारस्थित श्री सुन्दरी क्यौरिनी माध्यमिक विद्यालय प्राङ्गनमा स्थानीय प्रशासनको रोहवरमा हस्तान्तरण गरिएको हो ।
कोरिया फुड फर द हंग्री इन्टरनेसनल (केएफएचआइ) दक्षिण कोरियामा आधारित अन्तर्राष्ट्रिय मानवीय तथा विकास संस्था हो। यसले शिक्षा, स्वास्थ्य, पोषण, बालबालिका तथा समुदाय विकाससँगै विपद्का समयमा आपत्कालीन राहत र पुनःस्थापनाका क्षेत्रमा काम गर्दै आएको छ।
बाल विकास कार्यक्रम नेपाल (सीडीपीएन) ले पनि बालबालिका तथा समुदायको शिक्षा, स्वास्थ्य, जीविकोपार्जन र विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ।