बहराइनसँग पहिलो पटक भिड्दै नेपाल

बहराइनसँग पहिलो पटक भिड्दै नेपाल

काठमाडौं -  एसिया कपको छनोटका रूपमा रहेको एसीसी प्रिमियर कप–२०२६ आइतबार सुरु भएको छ। मलेसियामा भइरहेको प्रतियोगिताको पहिलो दिन हङकङ र ओमानले जित हासिल गरेका छन्।

एसिया कपमा दोस्रो पटक खेल्ने अभियान अन्तर्गत नेपाली क्रिकेट टिमले आज बहराइनसँग खेल्दै छ। यस प्रतियोगितामा बहराइनलाई तुलनात्मक रूपमा कमजोर मानिएको छ। त्यसैले नेपाललाई पहिलो खेल कठिन नहुने अनुमान गरिएको छ। नेपाल उपाधिको दाबेदार टिम हो। ५० ओभरको क्रिकेटमा नेपाल र बहराइन पहिलो पटक भिड्दै छन्। खेल विहान सवा ७ बजे सुरु हुनेछ। 

नेपालको समूह ‘ए’ मा आयोजक मलेसिया, साउदी अरब र हङकङ पनि छन्। समूह ‘बी’ मा ओमान, सिङ्गापुर, कुवेत, कतार र युएई रहेका छन्। यी १० टिममध्ये च्याम्पियनले एसिया कप खेल्ने छ।

सन् २०२३ मा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपमा नेपालले अपराजित रहेर च्याम्पियन बनी एसिया कपमा स्थान पक्का गरेको थियो तर दुई वर्षअघि पछिल्लो संस्करणमा युएईसँग फाइनलमा हारेपछि नेपाल निकै नजिक पुगेर पनि दोस्रो पटक एसिया कप खेल्नबाट वञ्चित भएको थियो।

यस पटक एसीसी प्रिमियर कपकै तयारी अनुरूप नेपालले भारतको बेङ्गलुरुमा करिब १० दिनको तयारी गरेको छ। जहाँ नेपालले कर्नाटकको टिमसँग खेलेका दुई अभ्यास खेलमा जित प्राप्त गरेको थियो। त्यसपछि मलेसियामा पनि पाँच दिनको शिविर रहेको थियो। सोही समय घरेलु टिम मलेसियाविरुद्ध दुई खेलका एकदिवसीय शृङ्खला पनि नेपालले क्लिन स्विप गरेको थियो। त्यसैले पनि यस प्रतियोगितामा नेपाललाई दाबेदारका रूपमा लिइएको छ।

नवनियुक्त कप्तान सन्दीपले पनि एसीसी प्रिमियर कपमा खेल्न ट्रफी जित्ने लक्ष्यसहित मलेसिया खेल्ने बताएका छन्। “मेरो र टिमको लक्ष्य भनेको ट्रफी नै हो। नेपाललाई एसिया कपमा छनोट गराएर एसीसी प्रिमियर कपको ट्रफी घर लिएर आउने भरपूर कोसिस गर्ने छौँ,” उनले भने। 

एकदिवसीय संरचनामा हुने एसिया कप सन् २०२७ मा बङ्गलादेशमा हुँदै छ। आयोजक बङ्गलादेश, भारत, पाकिस्तान श्रीलङ्का र अफगानिस्तानले एसिया कप खेल्ने पक्का भइसकेको छ।

सन्दीपको कप्तानीमा मलेसियामा खेल्ने टिममा आसिफ शेख, अर्जुन कुमाल, रोहित, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, ईशान पाण्डे, गुल्सन झा, हेमन्त धामी र सन्दीप जोरा रहेका छन्। 

खबरपाटी
खबरपाटी