काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ।

प्रधानमन्त्री शाह आज बिहान ९:३० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्गबाट नुवाकोट पुग्नुभएको थियो। प्रभावित बस्तीहरूको भौतिक अवस्था तथा बाढीबाट पुगेको क्षतिको अवलोकनपछि उहाँ आजै काठमाडौं फर्कनुभएको छ।

रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन सक्रिय रहँदै आउनुभएको छ। बाढीलगत्तै उच्चस्तरीय बैठकहरू आह्वान गरी सम्बन्धित निकायलाई निर्देशन दिनुभएका प्रधानमन्त्रीले विदुर र आसपासका प्रभावित क्षेत्रको प्रत्यक्ष स्थलगत जानकारी लिनुभएको हो।

भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट पुगेको भौतिक क्षतिको अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग प्रभावित क्षेत्रको अवस्था र आवश्यक कदमबारे विस्तृत छलफल गरेको थियो।

प्रधानमन्त्री शाहले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा अन्य पूर्वाधारलाई यथाशीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाका कामलाई तीव्रता दिन स्थानीय प्रशासन तथा सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।